रोल्पाको रुन्टीगढी–४ का वडाध्यक्ष पुनको निधन

रोल्पा, २७ असार ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको आज बुधवार निधन भएको छ । हिजो मङ्गलवार एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो ।

३७ वर्षीय पुनको उपचारका क्रममा बुधवार ज्यान गएको अस्पतालले जनाएको छ । सामान्य बिरामी भएका पुनले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराई औषधी सेवन गरिरहेका परिवारले जनाएको छ । पुन गएको पालिका चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।