स्मार्ट छोरीलाई जनप्रतिनिधिमै मतभेत

अन्जना बिश्वकर्मा
दाङ, २६ असार ।
तत्कालिन नगर प्रमुख घनश्याम पाण्डेले २०७७ साल साउन १ गतेदेखि तुलसीपुरमा‘स्मार्ट छोरी’ कार्यक्रम सञ्चालन गरे । त्यसको एउटै लक्ष्य थियो– छोरीहरुलाई उच्च शिक्षा पढाउने । तर, आगामी आर्थिक वर्षसम्मकालागि स्थगित भएपछि त्यो कार्यक्रम दीर्घकालिन रूपमा अगाडी बढ्ने सन्भर्दमा प्रश्न चिन्ह उठेको छ । १५ असारमा उपमहानगरपालिकाले सबै वडालाई सूचना जारी गरि स्मार्ट छोरी कार्यक्रम स्थगत गरेको ब्यहोराको जानकारी सहित चिठी पठायो ।

त्यो चिठी सार्वजनिक भएपछि जनप्रतिनिधि–जनप्रतिनिधिबीच नै मतभेत भयो भने, कर्मचारी पनि मुछिए । उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले सम्बन्धित शाखा अधिकृत माया श्रेष्ठलाई यो कार्यक्रम रोक्न निर्देशन गरे ।

त्यो निर्देशन पछि शाखा अधिकृत श्रेष्ठले सबै वडामा त्यो चिठि पठाइन । त्यसको खण्डन उपमहानगरपालिकाका प्रबक्ता माधव वलीले गरे । ‘तुलसीपुरमा स्मार्ट छोरी विहेवारी बीस बर्ष पारी कार्यक्रम २०८०/८१ मा पनि निरन्तर छ।’,उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘नीति र बजेटभन्दा बाहिर गएर आदेश कसले ग¥यो र शाखाबाट किन यस्तो सुचना बाहिरियो पालिकाको ध्यानाकर्षण भएको सबैमा जानकारी गराउँदछु।’ बजेटमा उल्लेख भएको कुरा यसरी एक्कासी रोक्ने परिपत्रले आफू अच्चमित भएको उनको भनाई छ ।

प्रमुख प्रशासकीय अधिृकत केसीले आन्तरिक स्रोत भएमा पुनः थप्न सकिने बताए । उनले कार्यक्रमलाई गरीब,दलित, विपन्न समुदायका छोरीहरुलाई लक्षित गर्ने गरि नीति परिवर्तन गरेर पुनः आगामी वर्षदेखि सञ्चालन हुने समेत बताए ।‘अहिले हुँदा खानेलाई पनि एउटै र हुने खानेलाई पनि एउटै हुँदा धनी परिवारलाई यसले खासै प्रभाब पारेको देखिदैन’,उनले भने‘त्यसैले कार्यविधिमा केही परिवर्तन गरेर आगामी वर्षदेखि सञ्चालनमा ल्याउन सकिन्छ ।’

आर्थिक वर्ष २०७७/०७८ देखि कार्यक्रम सञ्चालनमा आएको हो । सुरुवातमा मासिक एक सय रुपैयाँ दिने गरिएको भएपछि २०७८ पुसदेखि भने प्रत्येक महिना दुईसय बनाउने गरि कार्यपालिकाले निर्णय गरेको थियो । महिला बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत माया श्रेष्ठका अनुसार छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि प्रत्येक महिना २ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने गरिएको थियो ।

सोही अनुसार चालु वर्षसम्म पाँच सय ६५ जना छोरीको खातामा रकम जम्मा भइसकेको छ । पाँच सय ६५ जनाको भने नियमित खातामा रकम जम्मा गरिदिने भएपनि अब नयाँलाई भने नदिने गरि सूचना जारी गरिएको हो ।“हामीले पहिले खातामा जम्मा गरेका छोरीहरुलाई भने २० वर्षसम्म रकम जम्मा गरिदिने छौं”,उनले भनिन् “तर, अब नयाँहरुलाई भने कार्यविधि परिवर्तन गर्ने तयारी गरेका छौं ।”


न्यून आर्थिक अवस्था भएका छोरीहरुकालागि यो कार्यक्रम एकदमै प्रभावकारी हुने भएपनि धनी परिवारलाई यसले कुनै अर्थ नराख्ने भन्दै कार्यविधि परिबर्तन गरेर पुनः सञ्चालन गर्ने गरि छलफल भएको समेत उनको भनाई छ । अर्कोतर्फ उपमहानगरपालिकामा आर्थिक शंकट पनि बढ्दै गएकाले पनि यो कार्यक्रम बन्द हुने अबस्था आएको अधिकृत श्रेष्ठले बताईन् ।

उपमहानगरपालिकाको कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागु भएको थियो । अभिभावकले बैंकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा गरिदिने गरिएको थियो । जम्मा भएको रकम २० वर्ष पछि एकमुष्ट निकाल्ने सकिने कार्यविधिमा उल्लेख थियो । कार्यविधि अनुसार माविसम्म नपढेमा र २० वर्ष अगाडि नै बिहे गरेमा रकम पाउदैनन् ।

कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिनभित्र अनिवार्यरुपमा जन्मदर्ता गराएको हुनुपर्ने व्यबस्था थियो । उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था थियो । कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ ।

कार्यविधि अनुसार समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम पूरै दिनुपर्ने उल्लेख छ । साभारः अग्रिम साप्ताहिक