देउखुरीको घुस काण्डका विषयमा अनुसन्धान भइरहेको छ : प्रदेश प्रहरी

तुलसीपुर,२५ असार । दाङ देउखुरी स्थित राप्ती नदीमा कुलो खन्ने क्रममा ढुंगाजन्य वस्तु उत्खनन् गर्दा ‘सेटिङ मिलाउन’ भन्दै जिल्लाका सुरक्षाकर्मीहरुको नाम जोडिएको विषयमा लुम्बिनी प्रदेश प्रहरीले चासो देखाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रबक्ता कृष्ण बहादुर पल्लीका अनुसार प्रहरीमाथि नै प्रश्न चिन्ह उठेपछि स्वभाविक रुपमा नै छानविन गर्नुपर्ने भएकाले सोही अनुसार अनुसन्धान थालिएको हो ।‘हामीले हाम्रो संगठन भित्रका ब्यक्तीहरुकै नाम आएपछि छानविन थालेका छौं’, उनले भने‘हामीले आफ्नो ढंगले काम अघि बढाईरहेका छौं ।’


जेठ महिनाको अन्तिमतिर राप्ती गाउँपालिकाले कुलो खन्ने नाममा राप्ती नदी उत्खनन् गर्न अनुमति दिए अनुरुप ढुंगाजन्य वस्तु उत्खनन्को लागि सेटिङ मिलाउन लाखौं रकमको लेनदेन भएको गम्भीर आरोप लागेको हो । विप्वल निकट युवा नेता प्रकाश शाहीले उक्त आरोप लगाउँदै सामाजिक सञ्जालमा राखेका थिए ।

जसमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका एसपी, लमहीका इन्स्पेक्टर र भालुबाङ प्रहरी, गढवाका घुमुवा, जिल्लास्थित राष्ट्रिय अनुसन्धान, गढवा गाउँपालिका-१, राप्ती गाउँपालिका र त्यहाँ कार्यरत कर्मचारी र भालुबाङस्थित तीनजना पत्रकारलाई मोटो रकम बुझाएको गम्भीर आरोप लागेको हो ।