चोरखोलामा पहिरो खसेपछि दाङ-सल्यान सडक अवरुद्ध

दाङ, २३ असार । चोरखोलामा सुख्खा पहिरो खसेपछि दाङ-सल्यान सडक अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तगर्त सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै सुख्खा पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरो बिहान ११ बजेदेखि झर्न शुरु भएपनि बेलुका साढे चारबजेपछि ठुलो पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि गन्तव्यमा छुटेका यात्रुहरु बिच बाटोमा रोकिएका छन् ।

सडकमा खसेको पहिरो पन्छाउने काम ढिला हुँदा समस्या भएको यातायात व्यवसायी प्रकाश भण्डारीले बताउनुभयो । ‘बिहान १० बजेदेखि गाडीहरु सहजरुपमा आवातजावत गरेका छैनन् ।’ उहाँले भन्नुभयो-‘पहिरो पन्छाउने काम निकै ढिलासुस्ती भएको छ ।’


सडक अवरुद्ध भएका कारण तुलसीपुरबाट छुट्ने र सल्यानबाट दाङ जाने गाडीलाई वैकल्पीक मार्ग प्रयोग गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

अहिले दुई वटा जेसिवी लगाएर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनुभयो । जतिसक्दो छिटो पहिरो हटाउने कोशिस भइरहेको उहाँको भनाई छ ।