ज्ञानज्योती मावि तुलसीपुर देशकै उत्कृष्ट दशौ स्थानमा

टेकराज भण्डारी
दाङ, १९ असार ।
ज्ञानज्योती मावि तुलसीपुर देशकै उत्कृष्ट दशौ स्थानमा परेको छ। एजुकेशन समाचार काठमाडौंले भौतिक पुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयहरूको अध्ययन गरेर छनौट गरेको हो ।

देशका माविहरुमध्ये ५ सयबढी विद्यार्थी हुने माविलाई पहिलो मापदण्ड बनाइएको थियो । ८० माविहरुमध्ये कक्षा १२ मा उत्कृष्ट रिजल्ट ल्याएका २० वटा माविहरु छनौट भएका हुन । त्यस पछि छनौट भएका माविहरुलाई भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, र हालसम्मको शैक्षिक उपलब्धी, हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट मावि अवार्ड, प्लस टु अध्यापन गराउन थालेको वर्ष र नागरिकहरुमा परेको प्रभावमा प्रतिस्पर्धा गराइएको थियो ।


रिजल्टलाई ८० प्रतिशत र अन्य मापदण्डलाई ४/४ प्रतिशत अंक निर्धारण गरिएको थियो । सबै जोडेर कूल अंकका आधारमा अब्बल माविको सूचीतयार पारिएको हो । जसमा ज्ञान ज्योतिले १० औं स्थान हासिल गर्न सफल भएको छ ।

कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आएको माविले भविष्यका शैक्षिक योजना अन्तर्गत विद्यार्थी भर्ना २०८० लाई उत्साहपूणर् बनाउने तथा स्नातक तहमा बिबिएस, बिएस्सी, बिए र बिसीए अध्यापनमा विशेष जोड दिने तयारी गरिरहेको विद्यालयका शैक्षिक संयोजक शरद गौतमले बताए ।