काठमाण्डौ, १९ असार । आज पनि दाङ सहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । यी क्षेत्र भएर बग्ने खहरे खोलामा आकस्मिक बाढीको जोखिम बढेको छ । साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार गयराती स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपासमा ठूलो पानी परेको थियो ।
तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने जोखिम हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज पनि गण्डकी र लुम्बिनीसहित कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका केही ठाउँमा र राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभएको छ । उहाँका अनुसार तराईका जिल्लामा आज हावाहुरीको समेत सम्भावना छ ।
लाइभदाङ । १९ असार २०८०, मंगलवार ०९:१२ बजे