दाङमा वृक्षारोपणको शुरुवातः यो वर्ष तीन लाख बिरुवा रोपिने

दाङ, असार १४ ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले आज बिहिवारदेखि जिल्लाभर वृक्षारोपण कार्यक्रमको शुरुवात गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं.२ मा रहेको गौरी सामुदायिक वनको खाली क्षेत्रमा बिहान एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठको सभापतित्व एंव प्रमुख जिल्ला अधिकारी सुशील बैधको प्रमुख आतिथ्यतमा एक औपचारिक कार्यक्रमको आयोजना गरी वृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बैधले नेपालको सामुदायिक वन कार्यक्रम बिश्वमै एक सफल कार्यक्रम भएको चर्चा गर्दै वनका माध्यमबाट जीविकोपार्जन सहित वन तथा वातावरणको संरक्षणमा लाग्न सवैलाई अनुरोध गर्नुभयो ।


कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत श्रेष्ठले यो वर्ष दाङमा तीन लाख बढि बिरुवा रोप्ने लक्ष्य अनुसार आजदेखि काम थालिएको बताउनुभयो । ५ वटा नर्सरीमा उत्पादन गरिएका तीन लाख बढि बिरुवा रोप्ने काम आजदेखि शुरु भएको उहाँको भनाई थियो । राष्ट्रिय बृक्षरोपण दिवसका अवसरमा आज विभिन्न १४ स्थानमा औपचारिक कार्यक्रम नै गरेर १५ हजार बढि रोपिएको जानकारी दिनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष चित्रबहादुर चौधरी, गौरी सामुदायिक वन समूहका अध्यक्ष हिरालाल चौधरी, वडा सदस्य शरद डागी, सहायक वन अधिकृत अनन्त डाँगी, कृष्णसेन बहुप्राविधिक शिक्षालयका प्रशिक्षक प्रकाश ढकाल लगायतकाले बोल्नु भएको थियो ।

सहायक वन अधिकृत अर्जुनप्रसाद चापागाईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सहायक वन अधिकृत एंव सूचना अधिकारी खिमबहादुर केसीले गर्नु भएको थियो ।