एक गाउँकका किसानलाई ७ बोरा मल !

दाङ, १२ असार ।
बर्षेनी किसानकै एउटै समस्या हुन्छ–धान रोप्ने बेला मल पाइदैन । अहिले पनि किसानले समयमा मल पाउने छाँटकाँट देखिदैन । एक बोरा मलकालागि लुछाचुडी सुरू हुन थालेको छ । त्यसको एउटा उदाहरण हो– घोराही उपमहानगरपालिका वडा नं.७ मा ७ बोरा मल एक सय जति किसानले बाँडफाँट गर्दै गरेको तस्बिर । शनिबार मल बाँड्दै गरेको त्यो तस्बिरले अहिले राष्ट्रिय रूपमै चर्चा पाएको छ ।

किनकी त्यसले किसानहरूको राष्ट्रिय रूपमै रहेको समस्यालाई प्रतिनिधित्व गरेको छ । केही दिन अघि भारी वर्षा भएकाले सबैले ब्याड राखिसकेका छन् । अबको १५ दिन पछि रोपाई सुरू हुन्छ । तर, अहिलेसम्म पनि किसानले मल पाउने ग्यारेन्टी छैन । आएको मल लैजान लुछाचुडी हुन्छ । घोराही उपमहानगरपालिका वडा नं.७ शुक्रवारका एक सय बढि किसानले स्थानीय चौतारी सहकारी मार्फत मल भागबण्डा गरेका थिए ।

स्थानीय किसान कृष्ण चौधरीका अनुसार शुक्रबार गाउँमा त्यहाँ करिब एकसय ३० को बसोबास छ । ति सबैले खेति किसानी गर्छन् । त्यहाँ खेति किसानी गर्ने सबैलाई सरदर ७/८ बोरा मल चाहिन्छ । तर, उनीहरूले करिब १० किलोजति मल पाए । त्यो मलले उनीहरूलाई पुग्दैन् ।‘त्यो मल त हामीलाई चटनी खान पनि पुग्दैन’,उनले भने‘ त्यही पनि नहुनु भन्दा अहिल्यै देखि मल जम्मा गरेर राख्ने गरेका छौं ।’ अबको १०/१५ दिनमा रोपाई सुरू हुने भन्दै रोपाई सुरु हुने बेला मल नपाउँदा किसानहरू निकै समस्यामा पर्ने गरेको उनले बताए ।


किन ७ बोरा मात्रै ?
सोही वडामा १४ वटा टोल छन् । शनिबार साल्ट ट्रेडिङ्ले सोही वडाका सबै टोललाई ७/७ बोरा पुग्ने गरि मल दिएको थियो । त्यही मल सबै किसानले बाँडफाँड गरेका थिए । घोराही ७ मा मात्रै १७ सयको हाराहारीमा घरधुरी छन् । ति सबैजसो किसान रहेको वडाध्यक्ष खोपीराम चौधरीले बताए ।

‘शनिबार सबै टोललाई ७ बोरा पुग्ने गरि मल आएको थियो’,उनले भने‘त्यो सहकारी स्थानीय सहकारी मार्फत सबैलाई पुग्ने गरि भागबण्डा लगाएर वितरण गरिएको हो ।’ सोही वडामा ३५ सय विघा जति खेति योग्य जग्गा छ । समयमै मल नपाउँदा अहिले मल लैजान निकै लुछाचुडी हुने गरेको उनले बताए । साभारः अग्रिम साप्ताहिक