तुलसीपुरका केही क्षेत्रमा पानी आपूर्ति बन्द

तुलसीपुर, ६ असार ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था मार्फत पानी वितरण हुने क्षेत्रमा हिजो मंगलबारदेखि पानी आपूर्ति बन्द भएको छ ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सेवकराम भण्डारीले खानेपानीको मुहानमा भल पसेका कारण खानेपानी आपूर्ति बन्द भएको जानकारी दिनुभएको छ ।


उहाँका अनुसार खानेपानीको मुहान सफा गर्ने काम भइरहकाले तुलसीपुर उपमहानगरपालिका ५ ङ लाइन, नामिनगर टोल लगायत बजार क्षेत्रमा पानी वितरण हुन सकिरहेको छैन । हिजो केही पानीको मुहान सफा गरेको केही क्षेत्रमा भने आज विहानदेखि नै पानी वितरण भैसकेको छ ।

मुहान सरसफाइको काम सकिएपछि आज साँझ तथा भोली विहानसम्म बजार क्षेत्रमा पनि पानी आपूर्ति सहज हुने सचिव भण्डारीको भनाई रहेको छ । अहिले पानी वितरण बन्द रहेका क्षेत्रमा २ वटा पानी ट्याङकरले पानी वितरण गरिरहेको उहाँले बताउनु भयो ।