बन्दा किसानका पीडाः ‘गत वर्ष माग धेरै भयो, यस वर्ष वस्तुभाउलाई खुवाउनु प¥यो’

दीपक बोहरा
दाङ,२९ जेठ ।
दाङका किसानले लगाएको बन्दा बारीमै सुक्ने गरेको छ । बन्दा बिक्री नहुँदा बारीमै सुक्ने तथा वस्तुभाउलाई खुवाउनु पर्ने बाध्यता रहेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुरका राजेश डाँगीले १७ कठ्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भयो । बिक्री नभएपछि वस्तुभाउलाई खुवाउनु पर्ने बाध्यता आएको गुनासो गरे ।‘१७ कठ्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन्’,उनले भने‘ अब गाई,बाख्रालाई खुवाउनु भन्दा विकल्प भएन ।’

उनले बन्दा खेति गर्न लागेको १० वर्ष भन्दा बढि भयो । गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो । त्यही भएर पनि यस वर्ष हौसिएर उनले १७ कठ्ठामा खेति गरेका थिए । ‘गत वर्ष राम्रै माग भएको थियो, बिक्री पनि राम्रै भएको थियो’,उनले भने‘त्यही भएर मैले यस वर्ष धेरै क्षेत्रमा यो खेति गरेको हुँ ।’ गएको वर्ष उनले १० कठ्ठामा मात्रै बन्दा खेति गरेका थिए ।

भारतबाट आउने तरकारीले गर्दा यहाँको बन्दा बिक्री नभएको उनको गुनासो छ ।‘सबै भारतबाट आईहाल्छ’,उनले भने‘त्यसले गर्दा हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन ।’


त्यस्तै सोही ठाउँका किसान डम्बर कुमारी खत्री पनि बारीमा सुक्दै गरेको बन्दा देख्दा मन कुँडिन्छ । कृषि प्रधानदेशमा किसानले लगाएको तरकारीनै बिक्री नहुँनुले मुलुक कता जाँदैछ, भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउछिन् । ‘कृषि प्रधान देश भन्छन्, हामीले लगाएको तरकारी बारीमै सुक्छ’,उनले भनिन्‘तरकारी बिक्री नभएपनि नसक्ने, नबिग्रिने,प्रशोधन गरि अचारजस्ता कुरा बनाउने गरि सरकारले व्यवस्था गर्नुपथ्र्यो ।’

गत वर्ष ब्यापारीहरु बारीमा लिन आउने गरेको भएपनि यस वर्ष किन्न समेत नमानेको उनको भनाई छ । यस्तै भइरहेमा अर्को वर्ष खेति गर्ने कि नगर्ने भन्ने कुराले आफूलाई दोधारमा परेको उनको भनाई छ । उनीहरु जस्तै जिल्लामा बन्दा खेति गर्ने किसानको हालत त्यस्तै छ । पाँच रुपैँया किलोमा बिक्री गर्न खोज्दा पनि बिक्री नभएर गाई वस्तुलाई खुवाउनु पर्ने अवस्था आएको छ । खेति गर्दा एक डेढलाख लगानी भएपनि त्यो लगानी उठाउनसमेत हम्मे–हम्मे परेको छ । साभारः अग्रिम साप्ताहिक