आमावुवाको सेवा गर्न सिकाउँदै ‘सगरमाथा’

दाङ, १८-जेठ / दाङको सगरमाथा विद्यालयले विश्वभरका आमाबुबाहरुलाई कदर गरौ भन्ने नाराका साथ विश्व आमाबुवा दिवस मनाएको छ। तुलसीपुर ९ बेलुवा स्थित रहेको विद्यालयले विद्यार्थीलाई अभिभावकप्रतिको माया र दायित्ववोध गराउन ‘अभिभावक स्याहार-सुसार’ कार्यक्रमको आयोजना गरेर विश्व आमाबुवा दिवस मनाएको हो ।

विद्यालयले आयोजना गरेको कार्यक्रममा अभिभावकसहित विद्यार्थी भावुक बनेका थिए । उक्त कार्यक्रममा विद्यार्थीले आजको आफ्नो खाजा बाआमाहरुलाई खुवाएका थिए । भने केही अभिभावक आफ्नो छोराछोरी, नाता-नातिनीले गरेको बाचाले भक्कानिँदै आँशु लुकाउन प्रयासरत गरिरहेको देखिन्यो ।

  आँशुले टिलपिल भएको आँखा पुच्दै अभिभावक रुपा वलीले भनिन्, “सधैँ यस्तै व्यवहार छोराछोरीले गरुन् भन्ने आशा छ । घरमा पनि सहयोग गर्छन् तर आज स्कुलले सिकाए जस्तै सधैँ गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।” वलीले छोराछोरीको माया स्कुलको कार्यक्रममार्फत् महसुस गर्न पाउँदा खुसी लागेको अनुभव सुनाइन्। वलीका छोरा ८ र ४ कक्षामा अध्यनरत छन्। त्यस्तै अर्की अभिभावक गिता कडेलले पनि यस्ता खालका अभियान र कार्यक्रमले मात्रै अभिभावकलाई वृद्धाश्रम जानबाट रोक्न सक्ने बताइन् ।


अहिलेका छोराछोरी दायित्व भुलेर मात्र आमाबुवालाई आश्रम छाडेका छैनन् । हात-मुख जोड्न विदेश जानुपर्ने बाध्यताले पनि राखेका छन्, यो दुवै समस्याको अन्त्य हुनु पर्ने उनको जोड थियो । त्यस्तै विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले छोराछोरीले बिर्सिएको नेपाली संस्कार, संस्कृति र जिम्मेवारी बुझाउनका लागि अभिभावक स्याहारसुसार कार्यक्रम आयोजना गरिएको बताए ।

विद्यालयले दाङ जिल्लामै पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरेको उनले बताए । वृद्धाश्रमलाई घटाउने र आफ्नै घरमा भएको मीठो-मसिनो खाएर अभिभावकलाई सम्मानपूर्वक खुवाउने र स्यारसुसार गर्ने बनाउन स्कुलमा यो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

साथै वृद्ध आश्रममा बस्नु भएका अन्य बाआमाहरु जसले अनेकौ दुख, कष्ट, रोदन, पिडा सहेर बस्नु भको छ उहाँहरुले भोगेको जस्तो दुख आफ्ना बाआमाहरुले भोग्न नपरोस, उनीहरुमा स्वदेशको माया पलावस, नेपाल आमा प्रति उनीहरुको माया श्रद्धा कहिलै कमि नहोस भन्ने उद्देश्यले विद्यालयमा अध्यनरत विद्यार्थीलाई घोराही उपमहानगरपालिका तेरौटेमा रहेको वृद्ध आश्रममा अवलोकनको लागी लगिएको पनि उनले जानकारी दिए । कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख सरद शर्माले गरेका थिए ।