मृत्यु भएका मतदाताको नाम हटाईएन

तुलसीपुर
२७ वैशाख / दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाएको छैन । २०७४ यता कति मतदाताको मृत्यु भएको भनि स्थानीय तहहरुले नाम लिस्ट नपठाएकाले उनीहरुको नाम नहटाईएको हो ।

त्यसैले अहिले जिल्लामा भएका मतदाताहरु केही मृत्यु भएकाहरु पनि समावेश भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो ।“स्थानीय तहहरुले मृत्यु भएकाहरुको नाम पठाएनन”,उहाँले भन्नुभयो“त्यसैले पनि मृत्यु भएकाहरुको नाम पनि समावेश हुन गयो ।” दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै सिस्टमले फालेको भएपनि अन्य कुनै मतदाता नहटाईएको उहाँको भनाई छ ।

दाङका कुनै पनि स्थानीय तहका २०७४ यता १८ बर्ष माथिका कति जनाको मृत्यु भयो भनि तथ्यांक तयार पारेर निर्वाचन आयोगलाई नपठाउँदा मृत्यु भएकाहरुको समेत नाम समावेश भएको उहाँले बताउनुभयो । स्थानीय तहहरुले पनि आफूहरुले यस्तो तथ्यांक निर्वाचन आयोगलाई नबुझाएको बताउनुभयो । “उपमहानगरपालिकामा मतदाता नामावलीमा नाम भएका कति जनाको मृत्यु भयो भनेर त्यस्तो तथ्यांक अहिले निकालेका छैनौं, निर्वाचन आयोगलाई पनि पठाएका छैनौं”,घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भिम चौधरीले भन्नुभयो ।


निर्वाचन आयोगमा दावी विरोध परेकाहरुको लिस्ट मात्रै पठाएको तर, मृत्यु भएकाहरुको नपठाएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले बताउनुभयो ।

मृत्यु भएकाहरुको यसरी नामावली कटाउने सिस्टम भए सजिलो हुने उहाँले बताउनुभयो । गएको २०७४ सालमा भएको निर्वाचनमा दाङमा तीन लाख ७७ हजार पाँच मतदाता थिए । अहिले ३२ हजार ८ सय ९५ थपिएर चारलाख ९ हजार नौ सय मतदाता रहेका छन् । साभारः अग्रिम साप्ताहिक