राजनीतिमा युवाको प्रतिनिधित्व आबश्यक

अहिले नेपाली काँग्रेसको महाधिवेशनको चर्चा व्यापक छ । हरेक ५ बर्षमा काँग्रेसको महाधिवेशन हुनेगर्छ । हरेक पार्टीका महाधिवेशन एउटा पर्वका रुपमा रहने गर्छ । हुन् त, अन्य सामाजिक संघसंस्थाहरुको निर्वाचन पनि एउटा पर्वकै रुपमा आउछन् । निर्वाचन भनेको एउटा प्रतिष्ठाको विषय पनि बन्ने गर्छ । हरेक निर्वाचन दुई वा त्यो भन्दा बढि पक्षबीच हुनेगर्छ नै, त्यसले गर्दा पनि रोचक र सबैको चासोको विषय हुनेगर्छ । सामाजिक संघसंस्थामा फरक–फरक पार्टीबीच हुनेगर्छ, भने पार्टीको नेतृत्वकालागि पार्टी भित्रैकै नेता तथा कार्यकर्ताबीच हुने निर्वाचन पनि उत्तिकै रोचक हुन्छ । काँग्रेसको अहिलेको निर्वाचन निकै रोचककासाथ हेरिन्छ । वडातहदेखि नै हुने निर्वाचनले काँग्रेसलाई चलायमान बनाउने भन्दै यो निर्वाचन प्रणालीको अन्य राजनीतिक दलहरुले पनि प्रशंसा गर्ने गर्छन् । यो निर्वाचन प्रणालीले नयाँ पुस्तालाई नेतृत्वका रुपमा अघि बढाउने तथा महत्वपूर्ण योग्दान गरेकाहरुको सम्मान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ ।

भर्खरै सम्पन्न काँग्रेसको निर्वाचनमा युवाहरु नै बढि नेतृत्वमा आएका छन् । क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा होस्,या वडाको नेतृत्वमा होस्, या त अन्य पदकालागि पनि युवाहरु कै अघि सरेका छन् । यसले पार्टीलाई समयानुकुल सञ्चालन गर्न सहज हुने गरेको छ । पार्टी सञ्चालनको शैली पनि फेरिएको छ । विज्ञान, प्रबिधि, सञ्चारलगायत विकासले फड्को मारेको अबस्थामा पार्टीलाई चलायमान गर्न अब नयाँ पुस्ताको हातमा नेतृत्व आउनु पर्छ । नयाँ जोश, जाँगरसहित पार्टीको नेतृत्व गरेमा त्यसले बदलिदो परिस्थितको प्रतिनिधित्व गर्छ र पार्टीलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले पनि काँग्रेसको यो निर्वाचन प्रणाली लोकपृय बन्दै गएको छ ।


अहिले पनि पुरानो पुस्ताले नै पद ओगट्ने र पार्टीलाई ‘प्यारालाईसिस’ गराउने कार्य सबै राजनीतिक दलमा छ । वडा तहको निर्वाचनले पनि युवाहरुलाई नै नेतृत्वमा ल्याउन चाहेको परिणामहरु आएका छन् । तर, वडा तहदेखि निर्वाचन भएपनि काँग्रेसमै पनि केन्द्रीय नेतृत्व नयाँ पुस्ताले पाउने देखिदैन । पुरानै पुस्ताले नै पार्टीमा कब्जा जमाउने देखिन्छ । जिल्ला र प्रदेशका मुख्य पदमा पनि पुरानै पुस्ताको चर्चा छ । अन्य ठूला राजनीतिक दलहरु एमाले, माओवादी केन्द्रमा पनि पुरानै पुस्ताले पार्टीमा कब्जा जमाएका छन् । त्यस्तै जनता समाजवादी पार्टी, राप्रपा, जनमोर्चालगायतका पार्टीहरु पनि पुरानै पुस्ताको कब्जामा छन् । यसरी पुरानै पुस्ता पार्टीको नेतृत्वमा रहीरहदा अहिलेको बदलिदो अबस्थालाई प्रतिनिधित्व गर्दैन्, र पार्टी पनि चलायमान हुन सक्दैन्, त्यसैले अब नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन आबश्यक छ ।