रुकुममा आफ्नै बुहारीलाई बलात्कार गर्ने एकजना पक्राउ

रुकुम पश्चिम, ९ जेठ । रुकुम पश्चिममा सहोदर बुहारीलाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चौरजहारी नगरपालिका २ का ५५ बर्षिय भिमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । पीडितले दिएको उजुरीको आधारमा गिरीलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपी गिरी बिरुद्ध जबरजस्ती करणी मुद्धामा सात दिन अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार छोरा घरमा नभएको बेला करिब सात वर्ष देखि गिरीले बुहारीलाई बलात्कार गर्दै आएको बताईएको छ । ससुराले विभिन्न किसीमका डर त्रास देखाएकाले लामो समयसम्म बलात्कारको पीडा सहेर बस्न बाध्य भएको पीडितले बताएको प्रहरीले जानकारी दिएको छ ।


यसैबिच रुकुम पश्चिममै ७० वर्षिया बृद्धालाई बलात्कार गरेर एक पुरुष फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको सानीभेरी गाउँपालिका –१ निवासी ७० वर्षिया बृद्धालाई जबरजस्ती करणी गरेर ५७ वर्षिय एक पुरुष फरार भएका हुन । फरार रहेका ती पुरुष माथी घरमै बसीरहेकी बृद्धालाई मदिरा सेवन गरेर जबरजस्ती करणी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिनुभएको छ । उहाका अनुसार बैशाख २५ गते मुद्धा दर्ता गरेर घटनाको अनुसन्धान थालिएको छ । बलात्कारको आरोप लागेका पुरुष फरार रहेको र खोजी कार्य तिब्र पारिएको उहाँले बताउनुभयो । आरोपी र पीडित बृद्धा बीच सानीआमा र भतिजाको नाता रहेको प्रहरीको भनाई छ ।