लोपोन्मुख मगर खाम भाषाको संरक्षणमा लमहीका मगर समुदाय सक्रिय, १५ दिने भाषा तालिम सुरु

प्रिया स्मृती गजमेर
देउखुरी,६ असार ।
लोप हुँदै गएको आफ्नो मातृभाषा, कला, संस्कृति र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ लमही क्षेत्रका मगर समुदाय सक्रिय बनेका छन् । पछिल्लो समय नयाँ पुस्तामा मातृभाषाको प्रयोग घट्दै जानुका साथै परम्परागत संस्कार र सांस्कृतिक मूल्यहरू पनि हराउने जोखिम बढिरहेका बेला मगर समुदायले आफ्नो मौलिक भाषा ‘मगर खाम’ को संरक्षण अभियानलाई अघि बढाएको हो ।

यही अभियानलाई थप सशक्त बनाउने उद्देश्यले लमहीमा १५ दिने मगर खाम भाषा तालिम सुरु गरिएको छ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल मगर संघ लमही नगर समितिको समन्वयमा सञ्चालन गरिएको उक्त तालिमको एक समारोहका बीच उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कुनै पनि समुदायको पहिचान उसको भाषा, कला, संस्कृति र परम्परासँग जोडिएको बताउनुभयो । भाषा हराए समुदायको मौलिक पहिचान नै संकटमा पर्ने भएकाले यसको संरक्षणका लागि समुदाय स्वयं अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले राज्यले विभिन्न कार्यक्रम र बजेटमार्फत सहयोग गरे पनि समुदायभित्रबाट संरक्षणको भावना बलियो हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । “आफ्नो भाषा, संस्कृति र परम्परा जोगाउने पहिलो जिम्मेवारी सम्बन्धित समुदायकै हो,” उहाँले भन्नुभयो, “स्थानीय सरकारले सहयोग गर्न सक्छ, तर आफ्नो पहिचान जोगाउन समुदायले पनि राज्यका निकायसम्म आफ्ना माग र आवश्यकताहरू पुर्‍याउनुपर्छ । अधिकार र पहिचानका विषयमा आवाज उठाउनुपर्छ ।”

नगर प्रमुख चौधरीले लमही नगरपालिका सबै जातजाति, भाषा र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मगर समुदायले थालेको अभियानलाई नगरपालिकाले आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भाषा संरक्षणका कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो इतिहास र संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मगर समुदायले आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षणप्रति देखाएको चासो अत्यन्तै सकारात्मक र उदाहरणीय रहेको बताउनुभयो । उहाँले आधुनिकताको प्रभावसँगै धेरै समुदायका मौलिक भाषा र संस्कृतिहरू संकटमा परिरहेका बेला मगर समुदायले संरक्षणको अभियान थालेकोमा खुशी व्यक्त गर्नुभयो ।

“भाषा संवादको माध्यम मात्र होइन, यो समुदायको इतिहास, जीवनशैली, ज्ञान र सभ्यताको पहिचान पनि हो,” उपप्रमुख योगीले भन्नुभयो, “नयाँ पुस्ताले आफ्नो मातृभाषा सिक्न थाले भने समुदायको पहिचान अझ बलियो बन्नेछ ।” उहाँले नगरपालिकाले भाषा तथा संस्कृतिको संरक्षणका लागि आवश्यक सहयोग निरन्तर गर्दै जाने बताउनुभयो ।


कार्यक्रममा बोल्दै नेपाल मगर संघ दाङका पूर्व सचिव तथा प्याब्सनका केन्द्रीय सदस्य रेशम बहादुर बुढा मगरले मगर समुदायको मौलिक खाम भाषा पछिल्लो समय प्रयोगविहीन बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले घरपरिवार र समुदायभित्र नै मातृभाषाको प्रयोग घट्दै जाँदा नयाँ पुस्ता आफ्नो भाषाबाट टाढिँदै गएको बताउनुभयो ।

उहाँले भाषा संरक्षणका लागि तालिम मात्र पर्याप्त नहुने भन्दै दैनिक व्यवहारमा समेत मातृभाषाको प्रयोग बढाउनुपर्ने धारणा राख्नुभयो । “हामीले आफ्ना बालबालिकासँग घरमै मातृभाषामा संवाद गर्न सकेनौँ भने भाषा पुस्तान्तरण हुन सक्दैन,” उहाँले भन्नुभयो, “त्यसैले भाषा जोगाउने अभियान घरबाटै सुरु हुनुपर्छ ।”

लमही नगरपालिका ६ का वडा सदस्य पार्वती राना मगरले महिलाहरू भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण वाहक रहेको बताउनुभयो । उहाँले परिवार र समाजमा महिलाको भूमिकाले भाषा पुस्तान्तरणमा ठूलो प्रभाव पार्ने भएकाले महिलाहरू अझ बढी सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मगर समुदायका चाडपर्व, भेषभूषा, संस्कार र भाषालाई जीवन्त राख्न सबैको साझा प्रयास आवश्यक रहेको बताउँदै यस्ता तालिमले समुदायमा सकारात्मक जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाले पञ्चेबाजा बजाउने तालिम, सांस्कृतिक संरक्षणका कार्यक्रम तथा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको र यसले समुदायको पहिचान जोगाउन सहयोग पुगेको मगर समुदायको बुझाई छ ।

१५ दिनसम्म सञ्चालन हुने तालिममा मगर खाम भाषाको आधारभूत ज्ञान, बोलचाल, लेखन तथा भाषासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ । तालिममा मगर समुदायका विभिन्न उमेर समूहका सहभागीहरूको सहभागिता रहेको छ ।

मगर खाम भाषाका प्रशिक्षक इक बहादुर घर्ती मगर र सुन कुमार रोका मगर रहनुभएको छ । कार्यक्रमको सञ्चालन लमही नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत महेश थापा ठेडीले गर्नुभएको थियो ।