लुम्बिनीमा २ मन्त्री थपिदै

दीपक बोहरा
दाङ,७ जेठ ।
लुम्बिनी प्रदेशमा सोमबार मन्त्रीपरिषद विस्तार हुने भएको छ । आईतबार बसेको मन्त्रीपरिषदको बैठकले थप २ मन्त्री थप गर्ने निर्णय गरेको हो । काँग्रेसबाट राजु खनाल र जसपाबाट भण्डारीलाल अहिरलाई मन्त्री बनाउने तयारी छ । त्यसकालागि अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

त्यस्तै यस अघि मन्त्री हुनु भएका नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने समेत मन्त्रीपरिषदको निर्णय भएको छ ।

लुम्बिनी प्रदेशमा १० वटा मन्त्रालय रहेका छन् । ति मन्त्रालयमा थपघट पनि नगर्ने र राज्य मन्त्री पनि नराख्ने समेत निर्णय भएको छ । सोही अनुसार काँग्रेसले मुख्यमन्त्रीसहित ४ वटा, माओवादी केन्द्रले ३ वटा, नागरिक उन्मुक्ती पार्टी, जसपा र लोसपाले १÷१ वटा मन्त्रालय लिने सहमति भएको समेत सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले बताए । काँग्रेसबाट अझ २ र माओवादी केन्द्रबाट २ जना मन्त्रीको नाम टुंगिसकेको छैन । जसले गर्दा अझै पनि मन्त्री परिषदले पूर्णता पाउन नसकेको हो ।


यस अघि माओवादी केन्द्रबाट मास्की आर्थिक मामिला मन्त्री भइसकेका छन्, भने लोसपाबाट पाण्डेय मन्त्री छन् । काँग्रेस, माओवादी केन्द्रसहित बिभिन्न ८ दल र एक स्वतन्त्र साँंसद गरि ५३ जनाको समर्थनमा काँग्रेसका डिल्ली बहादुर चौधरी मुख्यमन्त्री भएका हुन् ।

गठबन्धनमा काँग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा,लोसपा र जनमत पार्टीका ३÷३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १÷१ सांसद तथा एक जना स्वतन्त्र सांसद छन् । त्यस्तै विपक्षमा लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसद छन् ।