प्रचण्डलाई पूर्व डिभिजन कमाण्डरको अनुरोध ‘भ्रष्टाचारको फाईल खोल्दा, सरकार ढल्छ भने ढल्न दिनुस्’

दाङ, ७ वैशाख ।
जनमुक्ती सेनाका पूर्व डिभिजन कमाण्डर तथा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की(राजेश)ले भ्रष्टाचारको फाईल खोल्दा सरकार ढल्छ्, भने ढल्न दिनुपर्ने बताएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेत रहेका मास्कीले भ्रष्टाचारलाई न्यूनिकरण गर्नु भनेको देशलाई विकास र समृद्धिको वाटोमा अगाडी बढ्ने भन्यो यो कदममा नेपाली जनताले पनि साथ दिएको बताए ।

‘अहिले जता गएपनि माओवादीकै चर्चा छ, अब जनताले पाँचै बर्ष प्रधानमन्त्री माग गर्छ’,उनले भने‘यस्तो काम गर्दा पनि कसैले सरकार ढल्न खोज्छ भने ढाल्न दिनुस्, नडराउनुस् हामी ब्याक हुन तयार छौं, हामी जनतामा जान्छौं । होईन भने ठूला राजनीतिक दलहरुले सर्पोर्ट गर्नुपर्छ ।’ माओवादीले लिएको यो पहलले जनतामा ठूलो उत्साह पैदा भएको समेत मास्कीको भनाई छ ।

पैसाका लागि आफ्ना नागरिकलाई सरनार्थी बनाउने कुरा देश बेचे सहर रहेको भन्दै यो सानो कुरा नभएको समेत बताए । ठूला दल आफै संलग्न हुने कुराले मुलुकको सुशासनको अबस्था कस्तो छ, भन्ने कुरा प्रष्ट भएको भन्दै यसमा सरकारले लिएको अहिलेको कदम सकारात्मक भएको बताए ।


साथै उनले अब सक्षम युवालाई अवसर दिनुपर्ने समेत बताएका छन् ।‘हरेक पार्टीमा सिगान, खकार खसेको समेत थाहा नपाउने नेता नेतृत्वमा छन्’,उनले भने‘ अब यसरी हुँदैन्, नेतृत्वले पनि सोँच्नु पर्ने बेला भएको छ ।’

नेकपा माओवादी केन्द्र तुलसीपुर ५ र ६ को पार्टी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताए । पार्टीका तुलसीपुर ५ का अध्यक्ष बेदप्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय लेखा आयोग सदस्य रामबहादुर दहित, प्रदेश कमिटि सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका इञ्चार्ज प्रेमराज वली, प्रदेश कमिटि सदस्य मिना बुढा, पार्टीका तुलसीपुर ५ इन्चार्ज मिनराज भण्डारी, धनराज बुढा क्षेत्रीलगायतले प्रशिक्षण दिएका थिए । त्यस अवसरमा दुई वटै वडाबाट रिपोर्टिङ पनि राखिएको थियो ।