दाङमा डाँका चोरी मुद्दाका फरार एक जना पक्राउ

दाङ, ५ जेठ ।  दाङमा प्रहरीले डाँका चोरी मुद्दाका फरार एक जना व्यक्तिलाई करिब २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका २ महादेवा बस्ने ५२ वर्षीय भागीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई दाङ जिल्ला अदालतले २०६० साल फागुन २ गते डाँका चोरी मुद्दामा ४ वर्ष ११ महिना २ दिन कैद फैसला गरेको थियो । यस्तै उनलाई साविक पुनरावेदन अदालत तुलसीपुरले २०६२ साल असार १९ गते गरेको फैसला आदेशमा ४९ हजार ५०० जरिवाना समेत तोकेको थियो ।


 यस्तै २०६२ साल कात्तिक ८ गते उनलाई पुनरावेदन अदालतले ७६ हजार ५० जरिवाना हुने फैसला गरेको भएयता पनि त्यो रकम असुल हुन बाँकी देखिएको र उनलाई खोजतलास गर्दै जाँदा इप्रका गढवाबाट गएको प्रहरी टोलीले आफ्नै घरमा लुकिछिपी बसेको अवस्था शुक्रबार फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख डीएसपी राजन कुमार गौतमले जानकारी दिए । उनले आजै नै दाङ जिल्ला अदालतमा फैसला कार्यान्वयनको लागि पठाइएको समेत उनको भनाइ छ ।