मिडियामा दलित समुदायका विषयवस्तुहरुलाई प्राथमिकताका साथ उठान गर्न जरुरी

काठमाडौं, ४ जेठ  । 
सञ्चारमाध्यममा दलित समुदायका विषयवस्तुहरुलाई प्राथमिकताका साथ उठान गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । जागरण मिडिया सेन्टरले गरेको नेपाली लेखनमा दलित सवाल विषयक संवाद कार्यक्रमका सहभागीले राजनैतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायका मुद्धाहरुलाई विशेष महत्वका साथ सञ्चार माध्यममा प्रकाशन तथा प्रशारणका लागि स्थान दिनुपर्ने बताउनुभएको हो ।

लेखक तथा दलित अगुवा पशुराम रम्तेलले दलित सवालका विषयवस्तुहरु सञ्चार माध्यममा उठान गर्न सञ्चार नीति नै समावेशी बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले दलित विषयवस्तुलाई सञ्चारमाध्यममा प्राथमिकताका साथ उठाउन गर्न सरकारी सञ्चार नीति बनाउनुपर्ने औंल्याउनुभयो ।

लेखक तथा अनुसन्धानकर्ता डीवी नेपालीले खोज अध्ययन गरी लेखन गरिएका विषयवस्तुहरुले सञ्चारमाध्यममा बढी प्राथमिकता पाउने बताउनुभयो । उहाँले धेरै भन्दा धेरै सामग्री अध्ययन गरी लेखन गरिएका लेखहरुले विशेष महत्व हुने भएकाले समाज तथा पुस्तक अध्ययन बढाउनुपर्ने टिप्पणी गर्नुभयो ।

लेखक रिता शाह संवैधानिक र राजनैतिक मुद्धाहरु नागरिकता, समावेशी, निजमाति ऐन जस्ता महत्वपूणर् विषयबस्तुहरु खासै उठान हुन नसकेको बताउनुभयो । दलित समुदायमा भूमि, आवासको समस्या उठान गर्नुपर्ने उहाँको सुझाव थियो । सञ्चारमाध्यममा अलि बढी छुवाछूतका विषयवस्तुले आइरहेको उहाँको भनाई छ ।


संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरको अध्यक्ष कमला विश्वकर्माले दलित सवालका विषयबस्तुहरुलाई सञ्चारमाध्यममा उठान गर्न लेखक तथा पत्रकारहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्नुपर्ने धारणा राख्नुभयो । दलित समुदायका लेखक र पत्रकारहरु धेरै संख्यामा उत्पादन गर्ने र गैरदलित समुदायका लेखक तथा पत्रकारहरुलाई दलित मुद्धामा सम्वेदनशील हुनुपर्ने बताउनुभयो ।

लेखक तथा पत्रकार धुव्र सत्य परियारले दलित समुदायका घटना प्रधान सञ्चार सामग्रीले प्राथमिकता पाइरहेको बताउनुभयो । लेखक शिवहरि ज्ञवालीले दलित विषयमा मिडिया सम्वेदनशिल नभएको आरोप लगाउनुभयो । दलित सवालका विषयबस्तुहरुलाई मिडियामा आकर्षित गर्न पहल गर्नुपर्ने बताउनुभयो । नयाँ पुस्तालाई टिकाउने योजनाका साथ नसोचिए दलित आन्दोलनका लागि घाटा हुने उहाँको टिप्पणी छ ।

लेखक गोपाल नेपालीले सञ्चारमाध्यमले सीमान्तकृत समुदायका मुद्धाहरु अझै प्राथमिकता साथ उठान गर्न नसकेको बताउनुभयो । जागरण मिडिया सेन्टरका कार्यकारी निर्देशक भिम बहादुर विश्वकर्माले जनप्रतिनिधिहरुलाई जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव सम्वन्धी कसुर २०६८ सम्वन्धी अनविज्ञता रहेको बताउनुभयो । सेन्टरका कार्यक्रम संयोजक वीर बहादुर नेपालीले सञ्चारमाध्यममा दलित सवाल उठान भएपनि त्यो पर्याप्त नभएको बताउनुभयो ।