नारायणपुर विमानस्थलकालागि ईआईए गरिदै

तुलसीपुर, ३० वैशाख ।
दाङको नारायणपुरमा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माणकोलागि वातावरणीय प्रभाब मूल्यांकन(ईआइए) तयारीको काम अघि बढेको छ । ईआईएकालागि गएको बैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ । नागरिक उड्डयन प्राधिकरणले ईआईए गर्न लागेको इन्जिनियर मुरारी भण्डारीले बताउनुभयो ।  प्राकृतिक, भौतिक प्रणाली,जैविक प्रणाली,सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा कस्तो असर पार्छ, भनि ईआईए गर्न लागिएको हो ।
आन्तरिक उडानकालागि घोराही उपमहानगरपालिका वडा नं. ८ र ९ मा पर्ने नारायणपुरमा एयरपोर्ट निर्माणकालागि ईआईए थालिएको हो । ३२०० मिटर लम्बाई र ४५ मिटर चौडाई रहने, ट्याक्सि मार्ग, एप्रोन विमानस्थल टर्मिनल, कार्गो भवन,पार्किङ क्षेत्र, जलवायु मापण केन्द्र, राडर, इन्धन डिपो, उद्दार तथा अग्नी नियन्त्रण स्टेशन,स्टाफ क्वाटर, प्रहरी पोष्ट, प्रकोप सहायता केन्द्र, स्टाफ क्वाटर निर्माण हुने गरि तयारी गरिएको छ । त्यसकालागि ३ सय ६४ हेक्टर जग्गा चाहिन्छ ।
दाङको तुलसीपुरमा २०११ सालमा स्थापना भएको विमानस्थल छ । त्यो विमानस्थलमा हाल १९ सिटे टुइनेटर विमान मात्रै अवतरण गर्न सक्छ । जहाँ हाल ७५० मिटर लम्बाई रहेको धावनमार्ग छ । त्यसलाई बढाउनकालागि पहल भइरहेको अबस्थामा नारायणपुरमा ईआईए गर्न लागिएको भन्दै त्यसले तुलसीपुरको विमानस्थलको विकल्पमा काम अघि बढाएको भन्दै विरोध सुरु भएको छ ।
केही दिन अघि मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री धनबहादुर मास्कीलगायतको टोलीले सोही टरिगाउँ विमानस्थलमा पुगेर केन्द्रले नहेरे प्रदेशले भएपनि त्यो विमानस्थलको धावन मार्ग विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए ।