नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

काठमाडौं, २४ बैशाख ।
नेपाली नागरिकता लिने १० भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार उनीहरूलाई शंखमूल, कलंकी, बागबजार र बानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमतिदेवी गुप्ता, ३९ वर्षीय गोपाल गुप्ता, ४४ वर्षीय रामसुन्दर गुप्ता, ४३ वर्षीय रामप्रवेश गुप्ता, ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मीनादेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता रहेका छन्। उनीहरू सबै भारत उत्तर प्रदेशको बलिया इब्राहिमपट्टीका हुन्।

नेपालको तराईका विभिन्न जिल्लाबाट विभिन्न समयमा नागरिकता बनाउन स्थलगत खटिएको टोलीबाट उनीहरूले नेपाली नागरिकता लिएको खुलेको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।


उनीहरूको साथबाट नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र र काठमाडौंमा बसाइँसराइ गरेको प्रमाणपत्रसहित भारतीय दूतावासले प्रदान गरेको भारतीय नागरिक भएको सिफारिसपत्र, भारतीय सवारीचालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट र आधार कार्ड बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार पक्राउ परेका भारतीय नागरिकले सिराहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपालमा घरजग्गा कारोबार गरेको झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएका पाइएको हो।