फालेका सिसाबाट इट्टा बनाउने ‘स्यानी’को योजनामा को बाधक बन्यो ?

तुलसीपुुर,२१ वैशाख । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी धेरै देश मुलुकमा घुमेकी छन् । उनी अमेरिका, अष्ट्रेलियालगायतका देशमा बसेर अध्ययन पनि गरिन । विदेशमा गएर अध्यनन गर्दा उनलाई सबै भन्दा बढि चासोको विषय बन्योः शिक्षा, स्वास्थ्य र सरसफाई ।

त्यसपछि उनी नेपाल आएर आफैले दिदी घर संस्था चलाईन र, आर्थिक अबस्था कमजोर भएका बालबालिकालाई आफैले पनि शिक्षा,दिक्षा दिन थालिन । त्यो नेपालकै एउटा नमूना बन्यो ।

सरकारले नै गर्न नसकेको काम भनेर सबैबाट प्रशंसा भयो । उनै स्यानीको काम देखेर गएको स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित भइन । जितेपछि उनको प्रणः रह्यो तुलसीपुर उपमहानगरपालिका भित्रको शिक्षा, स्वास्थ्य र सरसफाईलाई सुधार गर्ने । सोही अनुरुप उनले सरकारी विद्यालयका शिक्षकको आनीवानी सुधार गर्नुपर्ने र विद्यालयको सरसफाई सुधारमा ध्यान दिनुपर्नेमा जोड दिईन् ।

त्यसपछि उनको अर्को कदम भनेको तुलसीपुरको फोहर ब्यबस्थापन हो । विदेश हुँदा उनले त्यहाँको सरसफाई ब्यस्थापन अध्ययन गरेकी थिईन्, भने नेपालमै फोहर ब्यबस्थापनकालागि भएका अभ्यास पनि अध्ययन गरिन् । त्यही अनुसार तुलसीपुरको फोहर ब्यबस्थापनकालागि दत्तचित्त भएर लागिन । यस अघि कोहलपुुरमा भएको फोहर ब्यबस्थापनको उनले अध्ययन गरिन् ।

त्यहाँ फालेका सीसाबाट इट्टा निर्माण गरिएको छ । त्यस्तै फोहरबाट कम्पोष्ट मल तयार गरिएको छ । ५ कठ्ठा जग्गामा सोही उद्योग तयार भएको छ । इट्टा निर्माण, मल निर्माण गर्नकालागि मेसिन जडान गरिएका छन् । त्यहाँ कुहिने र नकुहिने फोहरलाई छुट्टा छुट्टै गरेर प्रशोधन गरेर बजारमा लगिन्छ । वरिपरि कम्पाउन्ड बनाएरकाले बाहिर पनि कुनै असर हुँदैन । जसले गर्दा फोहर पनि ब्यबस्थापन भएको छ, भने स्थानीय सयौंले रोजगारी पाएका छन् ।

यही मोडेलमा तुलसीपुरको फोहर ब्यबस्थापन गर्न खोजिएको छ । त्यसकालागि कार्यपालिकामा कुरा गएको ६ महिना पुगिसक्यो । तर, त्यसले निकास पाउन सकेको छैन । उनले आफूलाई फोहर ब्यबस्थापनको जिम्मा पाएमा तुलसीपुरलाई सुन्दर बनाएर देखाउने बताईन् । तर, त्यसकालागि कदम अगाडी बढाउन मेयर, कर्मचारीसहित सबै जनप्रतिनिधिले सहयोग गर्नुपर्ने बताईन् ।


‘यो कुरामा अगाडी बढाउन पाए, यहाँको फोहरलाई मोहर बनाउने मेरो योजना थियो’,उनले भनिन्‘ यसमा मलाई सबैले सहयोग गरे, तुलसीपुर सफा हुन्थ्यो ।’ सबैको जिम्मेवारी भनेको तुलसीपुर सुधार गर्ने नै रहेको भन्दै तुलसीपुर सुधारमा हातेमालो गर्न पर्नेमा झनै रोक्ने काम भइरहेको भन्दै यो तुलसीपुरका लागि सकारात्मक कदम नभएको उनको नभाई छ ।

तुलसीपुरमा फोहर ब्यबस्थापनको काम अघि बढे, बजार सफा हुने, धेरैले रोजगारी पनि पाउने, मल र इट्टा पनि उत्पादन हुने उनले बताईन् । यसकालागि उपमहानगरपालिकाले लगानी गर्नु नपर्ने उल्टै उपमहानगरपालिकालाई नै आम्दानी आउने उनको भनाई छ ।

यस अघि नै इनरिच नेपाल नामक संस्थालाई फोहर ब्यबस्थापनकालागि जिम्मा दिइएको थियो । तर, अहिले यो वा त्यो वाहानामा काम अघि बढ्न सकेको छैन । फोहर ब्यबस्थापन नहुँदा बजार अस्तब्यस्त छ । सिंचाई कुलोमा फोहर फाल्दा किसानको खेतमा फोहर जान्छ । प्लाष्टिक ब्यबस्थापन नहुदा जहाँपायो त्यही प्लाष्टिक हुन्छ, यो सबै ब्यबस्थापन गर्नकालागि सोही संस्थाले बिभिन्न स्थानमा काम गरिरहेको छ । त्यसकालागि ५ कठ्ठा जग्गा भए पुग्छ ।