घोराही-तुलसीपुर चारलेनमा राजनीति नगरौंःमन्त्री शर्मा

दाङ,१४ वैशाख ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले घोराही-तुलसीपुर चारलेन सडक निर्माणको कार्यमा राजनीति नगर्न सुझाब दिएकी छन् । नारायणपुर उद्योग बाणिज्य संघको आयोजनामा नारायणपुरमा सुरु भएको कृषि,पर्यटन तथा ब्यापारिक महोत्सव उद्घाटन गर्दै उनले भनिन्‘जनदवाव हुँदा त्यसले माथि दवाव दिन पनि सहज हुन्छ, तर, चारलेनमा राजनीति गरेर अस्वभाविक विरोध गर्दा त्यसले फाइदा दिदैन ।’

चारलेन नबन्दा कष्टकर रहेको भन्दै निर्वाचन जितेदेखि नै पहिलो प्राथमिकतामा राखेर चारलेनकै प्रक्रिया अगाडी बढाईरहेको समेत उनको भनाई छ । अब आउने बजेट भाषणभन्दा अघि नै चारलेनको ठेक्का तोड्ने गरि तयारी गरेको समेत उनको भनाई छ ।‘ठेक्का नतोड्दासम्म त्यसमा ठेकेदारकै अधिकार हुने र सरकारले चाहेर पनि केही गर्न सक्ने अबस्था रहदैन’,उनले भनिन्‘त्यसैले पहिले ठेक्का तोड्छौं, त्यसपछि अहिले दुईलेनकै मर्मत कार्य गर्छौं ।’

भारतीय एक्जिम बैंकको लगानीमा भारतीय तथ्य कम्पनीले काम गरिरहेको भएपनि यो ठेकेदार कम्पनीको ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया अगाडी बढाएर काम अगाडी बढाउने गरि तयारी रहेको मन्त्री शर्माको भनाई छ । त्यसपछि नयाँ ठेकेदार मार्फत चारलेनको काम अघि बढ्ने समेत उनको भनाई थियो ।

त्यस्कालागि प्रधानमन्त्री,अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्रीसहित भारतीय राजदुतावास र सोही प्राजेक्ट हेर्ने सचिबसंग पनि छलफल भइसकेको छ । एक्जिम बैंकले लगानी गरेका दाङ मात्रै नभई नेपालकै दर्जन बढि स्थानको हालत यस्तै रहेको समेत मन्त्री शर्माले बताईन् ।
साथै उनले दाङमा एयरपोर्ट विस्तारको पनि उत्तिकै विवाद आउने भन्दै दाङवासीलाई सहज हुने गरि एयरपोर्ट विस्तार गर्नुपर्ने बताईन् ।‘म घोराहीबासी भएर नारायणपुर नै हुनुपर्छ, भन्ने पनि छैन’,उनले भनिन्‘समग्र दाङवासीलाई जहाँ बनाउँदा सहज हुन्छ, त्यही बनाउने हो, त्यसकालागि दाङबाट नेतृत्व गर्ने नेताहरु एकजुट हुनुपर्छ ।’


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएको भन्दै अबको केही समयमा ब्याचलर र एमडी स्तरका शैक्षिक कार्यक्रम सुरु गर्ने गरि तयारी गरेको समेत बताईन् । त्यस्तै अहिले बृद्धभत्ता कटौती गर्न लागेको भनि गलत प्रचार हुने गरेको भन्दै त्यो सत्य नभएको समेत बताइन् । सरकारले बैदेशिक रोजगारमा गएकाहरुलाई पनि योग्दानमा आधारित सामाजिक सुरक्षाभत्ता दिने कुरा समेत रहेको बताईन् ।

साथै अत्याबश्यक कानुन निर्माणको काम पनि अघि बढिरहेको बताईन् ।