तुलसीपुर मेयर कप फुटबल सुरु

लक्ष्मण बस्नेत
तुलसीपुर, २६ चैत ।
दाङको तुलसीपुरमा शनिबारदेखि तुलसीपुर नगर स्तरिय मेयर कप फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाकाको आयोजनामा अरनिको खेल मैदानमा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टिकाराम खड्काले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खड्काले खेलकुद राष्ट्रको सान र गौरव भएको बताउनु भएकोछ । मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद सिङ्गो राष्ट्रको पहिचान अन्तरास्ट्रिय स्तरमा स्थापित गराउने एक दरिलो माध्यम भएको उहाँले बताउनुभयो । उहाले नगरको आयोजनामा हुने मेयर कप प्रतियोगीताबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ तुलसीपुर क्षेत्रका खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउने गरी दक्ष खेलाडी उत्पादनमा स्थानीय सरकारको भूमिकालाई थप सक्रिय बनाएको बताउनुभयो । साथै उहाँले खेलाडीलाई अनुशासनको उच्च पालना गरेर खेल्न आग्रह गर्नुभयो ।


तुलसीपुर नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नम्बर १६ का अध्यक्ष शिवानन्द डिसीको अध्यक्षता तथा नगरप्रमुख खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । खेलकुद विकास समितिका सदस्य पार्वती विकको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको संचालन शिक्षा महाशााखाका अधिकृत चक्र भण्डारीले गर्नुभएको थियो ।

३० गते सम्म चल्ने प्रतियोगितामा नगरका १ देखि १९ नम्बर वडाका टिमको सहभागीता रहेकोछ। यसैबिच शनिबार सम्पन्न खेलमा वडा १९ र १८ बिजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा वडा न. ११ लाई पेनाल्टीमा ४ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै वडा न. १९ ले बिजयी सुरुवात गरेको हो । त्यस्तै वडा न. ८ लाई पेनाल्टीमा ५ का विरुद्ध ६ गोलले पराजित गर्दै वडा न. २८ बिजयी भएको हो । प्रतियोगिता अन्तरगत  आईतवार ५ खेल हुनेछन । पहिलो खेलमा वडा न. ७ र १४ भिड्नेछन् ।खेल बिहान ७ बजे हुनेछ ।