महान्यायाधिवक्ता भण्डारीका तीन पुस्ते वकिल

काठमाडौं, ३० भदौ ।
महान्यायाधिवक्ता नियुक्त गरेकी सविता भण्डारीको कानुनसँग लामो नाता छ। उनी यस्तो परिवारकी सदस्य हुन्, जसमा तीन पुस्ते वकिलहरू छन्।

सविता ९९ वर्ष पुगिसकेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्। बाबुकै हुर्काइबढाइ र प्रेरणा पाएर उनले कानुनी पेसा अंगालेकी थिइन्। अहिले उनको प्रेरणा पाएर परिवारमा अर्को वकिल पनि जन्मिसकेको छ।

उनको परिवारका तेस्रो अधिवक्ता हुन् — सविताका दाजुकी छोरी निविदिता भण्डारी।


वरिष्ठ अधिवक्ता भण्डारीले कानुनी क्षेत्रमा काम गर्न थालेको २०११ सालदेखि हो। सुरूमा उनी वकिलकहाँ मुद्दा लैजाने काम गर्थे। २०१४ सालमा अधिवक्ताको लाइसेन्स लिए। उनको लाइसेन्स नम्बर ९ हो। त्यसपछि २०२४ सालमा वरिष्ठ अधिवक्ताको लाइसेन्स पाए।

त्यसयता निरन्तर कानुनी पेसामा सक्रिय भण्डारी नेपाल बार एसोसिएसनमा दुईपटकसम्म अध्यक्ष भए। अहिले छोरी सविता र नातिनी निविदिता दुवैले पुस्तैनी विरासत धानिरहेका छन्।