दीपक बोहरा,
दाङ, २१ चैत ।
लुम्बिनी प्रदेशसभामा सरकारबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्रसहितका दल सोमबारको प्रदेशसभा बैठकमा प्रतिपक्षको ‘रो’ मा बसेका छन् । यस अघिका प्रदेशसभा बैठकमा सत्तापक्षमा रहेका माओवादीका सांसदहरु सोमबार भने प्रतिपक्षमा बसेका हुन् ।
गएको चैत १२ गते माओवादी केन्द्रसहितका राजनीतिक दलहरुले समर्थन फिर्ता लिएर काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्रीको प्रस्ताब गरेका थिए। यो संगै अब सत्ता पक्षको ‘रो’मा एमालेका २९ र राप्रपाका ४ सांसद मात्रै छन् ।
८७ सांसद रहेको प्रदेशमा बहुमतकालागि ४४ सांसद चाहिन्छ । तर, हाल ५३ जना सांसद विपक्षमा छन् । काँग्रेसका २७, माओवादीका १०(सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जसपा,लोसपा र जनमत पार्टीका ३/३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद तथा एक जना स्वतन्त्र सांसद प्रतिपक्षमा रहेका छन् ।
मुख्यमन्त्री लिला गिरीले आफूले भने विश्वासको मत नपाए संसदको ठूलो दलले मुख्यमन्त्री पाउनु पर्ने बताएका छन् । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री गिरीले अहिले १६८(२) अनुसार सरकार बनिरहेको भन्दै विश्वासको मत नपाए स्वतःधारा १६८(३) अनुसार ठूलो दलले सरकार बनाउने ब्यबस्था रहेको बताए ।
लाइभदाङ । २१ चैत्र २०७९, मंगलवार ०९:३१ बजे