दाङ, ३० भदौ । हिड्न नसक्ने अबस्थामा रहेका बर्दियाका कम्भु नेपाली भदौ १० गते उपचारकालागि विजौरी स्थित प्रादेशिक आयुर्वेद अस्पतालमा आए । उनको पञ्चकर्माबिधिबाट उपचार पछि उनी सञ्चो भयो । हाल उनी हिड्डुल गर्न सक्ने भएका छन् ।
त्यस्तै बुटवलबाट ७२ बर्षीया रामकुमारी गिरी पनि अस्पतालमा उपचारकालागि पुगिन् । उनमा दम र फिबरको समस्या थियो । औषधी दिएर उपचार गरेपछि उनी पनि सञ्चो भएर फर्किन ।
त्यस्तै रुकुमकी १९ बर्षीया निरुता रावत पनि पायल्सको समस्या लिएर अस्पतालमा आईन् । उनको क्षारशुत्र विधिबाट सफल अपरेशन भएको छ ।
उनीहरुमात्रै होईन्, अहिले अस्पतालमा बाहिरी जिल्लाबाट पनि उपचारकालागि आउने विरामीको संख्या बढिरहेको अस्पतालका निमित्त निर्देशक डा. महेश कुमार खनालले बताए । यसले आयुर्वेद प्रतिको आकर्षण बढिरहेको उनको भनाई छ । पायल्स तथा फिस्टुलाको उपचार यो क्षेत्रमै पहिलो र भरपर्दो रहेको समेत भएकाले यसरी बाहिरी जिल्लाका समेत विरामीको आकर्षण बढेको हुन सक्ने डा. खनालको भनाई छ । हाल डा. मदन भण्डारीले पायल्स तथा फिस्टुलाको उनले उपचार गरिरहेको छन् ।
एलोपेथिक औषधी खाँदा–खाँदा सञ्चो नभएका तथा दीर्घ रोगीहरु धेरै आउने गरेको डा. खनालको भनाई छ ।‘प्राय ः एलोपेथिक पद्धतिबाट उपचार नभएकाहरु, त्यसपछि पञ्चकर्म, क्षारसुत्र विधिबाट उपचार भएर गएकाहरुले गाउँमा गरेको प्रचारले गर्दा पनि धेरै विरामीहरु आउने गर्नुहुन्छ’, उनले भने ।
हाल रुकुम, सल्यान, प्यूठान, बर्दिया, बुटवललगायतका स्थानबाट आयुर्वेद उपचारकालागि विरामीहरु आउने गरेका छन् । उनका अनुसार सबैगरि दैनिक ४० देखि ५० बीचको हाराहारीमा विरामीहरु आएर सेवा लिने गरेका छन् । गएको हप्तामात्रै करिब तीन सय विरामीले सेवा लिएका छन् । ति मध्ये करिब डेढसय जतिले पञ्चकर्माको सेवा लिने गरेको प्रमुख खनालले बताए ।‘हामीसंग धेरै विरामीहरु पञ्चकर्मको सेवा लिन आउने गर्नुभएको छ’ उनले भने‘गएको हप्ता मात्रै डेढसय जना जतिले यो सेवा लिनुभयो ।’
प्यारालाईसिस भएकाहरु, जोर्नी तथा नसाका समस्या भएकाहरु, प्रसर, अनिद्राका समस्याका विरामीलाई पञ्चकर्म विधिबाट सेवा दिने गरेको प्रमुख खनालको भनाई छ । हाल अस्पतालमा सिरोधारा, बस्ती, जुकाबाट हुने थेरापी पनि धेरै हुने गरेको छ ।
असोज महिनादेखि फिजियो थेरापी सेवा पनि सञ्चालन ल्याउने तयारी रहेको डा. खनालले बताए । त्यसकालागि आबश्यक सामग्रीको व्यबस्थापन कार्य भइरहेको उनले बताए । हाल विहान विरामीलाई योग सेवा पनि प्रदान भइरहेको छ । एक्सरे सेवा पनि सुरु भएको भन्दै यसले थप सहज बनाएको उनको भनाई छ । साथै खुल्ला आरोग्यशाला सञ्चालनको समेत तयारी छ । त्यसकालागि पूर्वाधार तयार भइसकेको छ । अकुपञ्चर सेवा पनि केही समयमा सञ्चालनमा आउने तयारी रहेको उनले बताए ।
पछिल्लो समय आयुर्वेदप्रति नागरिकको पनि चासो बढिरहेको डा.खनालले बताए । चिकित्सालयको आफ्नै फार्मेसी भएकाले आयुर्वेद औषधीमा १५ देखि २० प्रतिशत छुट हुने गरेको छ । एउटा विरामीले ३/४ थरि औषधीहरु निःशुल्क पाउने गरेका छन् । अस्पतालमा दर्ता शूल्क पनि नलिने तथा सस्तोमा उपचार हुने भएपछि विरामीको आकर्षण बढेको समेत उनको भनाई छ ।
लाइभदाङ । ३० भाद्र २०७८, बुधबार १८:३१ बजे