देउखुरी क्षेत्र शैक्षिक हबको रूपमा विकसित हुँदै

प्रिया स्मृती गजमेर,
लमही,११ चैत ।
शिक्षा क्षेत्र भन्ने बित्तिकै विशुद्ध रूपमा आजको विज्ञान र प्रविधिको माध्यमबाट ज्ञान प्रदान गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा दक्ष तथा सीपयुक्त जनशक्ति तयार पार्ने उद्देश्य राखेको हुन्छ । उदेश्य प्राप्तिको लागि हरेक संस्था प्रयत्नशील रहेका हुन्छन् जसअन्तर्गत लुम्बिनी प्रदेश दाङ जिल्लामा अवस्थित देउखुरी क्षेत्रमा रहेका विद्यालयहरू पनि शैक्षिक क्षेत्रमा फड्को मार्दै गइरहेका छन् ।

विशेषगरी गोरखा मोडेल सेकेन्डरी स्कुलको लमही क्षेत्रमा आगमन भए पश्चात् समग्र देउखुरीमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन भएको आभास अभिभावकहरूले व्यक्त गर्ने गरेको पाइन्छ । यस विद्यालयको स्थापना अगाडि देउखुरी क्षेत्रमा ३ ओटा विद्यालयमा विज्ञान सङ्काय सञ्चालन भए पनि नतिजा नगन्य मात्रामा रहेको थियो ।

त्यस अवस्थामा उच्च शिक्षा हासिलका लागि दाङको घोराही वा जिल्ला बाहिर जानु पर्ने बाध्यता थियो। हाल गोरखा मोडेल सकेन्डरी स्कुलमा विज्ञान तथा व्यवस्थापन सङ्कायमा अध्ययन गरेका विद्यार्थीहरू पन्चानब्बे प्रतिशत भन्दा बढी उत्तीर्ण गरेका छन् । साथै छोटो समयमा यस विद्यालयबाट २ उत्तीर्ण भएका विद्यार्थीहरूले आई.ओ.एम,आई.ओ.इ,ए.एफ.यु र टियुबाट लिइने प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् ।

हालसम्म यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थी मध्ये संगीता खनाल चिकित्साशास्त्र (बिएएmएस), इन्जिनियरिङ तर्फ नवीन कार्की (सिभिल ), सृष्टि शर्मा ( कम्प्युटर), बिएससी फरेष्टि तर्फ गीता सुवेदी,बि एससी एजी तर्फ प्रबीन देबकोटा र बि.फार्मेसी तर्फ नवराज खनालले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् भने थुप्रै अन्य विद्यार्थीहरूले सशुल्क कोटामा नाम निकालेका छन् ।


यस वर्ष मात्रै यस विद्यालयबाट : बिबिएस मा कुल ८ जना विद्यार्थीले नाम निकाल्न सफल भएका छन् जसमध्ये दिब्यान्सु भट्टराईले सैतिस हजार परीक्षार्थी मध्येमा ३८४ नम्बर र नवराज खनालले ४९० नम्बरमा नाम निकाली समग्र दाङ जिल्लाकै प्रतिष्ठा राख्न सफल भएका छन् । त्यसै गरि यस वर्षकै बिएमएस को प्रवेशिका परीक्षामा ३ जना,बि.एससी नर्सिङमा ४ जना र बिपिएचमा ३ जनाले नाम निकाल्न सफल भएका छन् ।

विद्यार्थी नवराज खनाले B.Pharm मा २५ नम्बरमा नाम निकाली पूर्ण छात्रवृत्तिमा पर्न सफल भएका छन् । यसै गरि यस वर्षकै विद्यार्थी मध्येबाटै इन्जिनियर तर्फ ४ जना विद्यार्थी र बि.एस.सी CSIT मा तिनजनाले नाम निकाल्न सफल भएका छन् । इन्जिनियर छात्रा सृष्टि शर्माले टियु बाट कम्प्युटर इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति र पोखरा विश्वविद्यालयबाट लिएको प्रवेशिका परीक्षामा छात्रा मध्येबाट तेस्रो नम्बरमा नाम निकाल्न सफल भएकी थिइन् ।

साथै व्यवस्थापन संङ्काय तर्फ तिनजना छात्रछात्राले (सीए ), थुप्रै विद्यार्थीहरूले बिबिए,बिएचएम,बिबिएम र बिआईटी अध्ययन गरिरहेका छन् । यसरी गोरखा मोडेल स्कुलका छात्रछात्राले एक पछि अर्काे उपलब्धि हासिल गर्दै गर्दा विद्यार्थीहरूमा पढाइप्रतिको मोह बढ्दै गएको पाइन्छ ।

हाल यस क्षेत्रमा अध्ययन गर्नका लागि छिमेकी जिल्लाहरू रोल्पा , रूकुम, प्यूठान र अर्घाखाँचीबाट ठूलो संंख्यामा विद्यार्थीहरू आउने गरेका छन । गोरखा सँगसँगै अन्य विद्यालयहरू पनि शैक्षिक उपलब्धि हासिलका लागि टड्कारो रूपले लाग्ने गरेको पाइएको छ ।