दंगीशरणमा मौरीजन्य उपकरण वितरण

प्रमोद आचार्य,
दंगीशरण, १० चैत ।
दंगीशरण गाउँपालिकाको आयोजनामा पालिका भित्र रहेका १२ जना माहुरी पालक किसानहरुलाई ५० प्रतीशत अनुदानमा मौरीजन्य उपकरण वितरण गरीएको छ ।

                   

गाउँपालिकाले १५ दिने सुचना जारी गरी आएका मौरीपालक किसानहरुको माग निवेदनका आधारमा मौरीजन्य उपकरण वितरण गरीएको कृषि शाखा प्रमुख शरु भुषालले जानकारी दिनुभयो ।

आज एक औपचारिक कार्यक्रमका बिच १२ जना किसानहरूलाई ७३ वटा मौरी घार टोपि, मौरी घार स्ट्यान्ड लगायतका सामाग्री वितरण गरीएको हो । मौरीजन्य उपकरण वितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुहरु निर्वाचित भएर आइसकेपछी कृषि शाखा अन्तर्गत मौरीपालक किसानहरुका लागी केही सहयोग मिलोस भन्ने उदेश्यका साथ ५० प्रतीशत अनुदानमा उपकरण वितरण गर्न १ लाख ५० हजार रकम विनियोजित गरेको बताउनुभयो ।


लगानी बिनाको कामको सही प्रतीफल नआउने हुदा किसानहरुको ५० प्रतीशत लगानी र गाउँपालिकाको ५० प्रतीशत अनुदानमा उपकरण वितरण गरिएको बताउनुभयो । यस्तै पालिका उपाध्यक्ष पिमा खड्काले किसानहरुको माग र आवश्यकताको जानकारी लिन आफुहरु स्वयं उपस्थित रहेको बताउनुभयो ।

अर्को एक प्रसङ्गमा पालिका उपाध्यक्ष खड्काले साझ बिहानको थोरै समयमा पनि गर्न सकिने र महिला,जेष्ठ नागरीक सबैले सजिलै गर्न सकिने र आय आर्जन गर्न सकिने ब्यबसाय भएकाले पनि मौरीपालन तर्फ किसानहरुको रुचि बढाउन आग्रह गर्नुभयो ।

उपकरण वितरण कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रेशम बहादुर वलि, वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरी ,मौरीपालक किसान तिलक बहादुर डाँगी लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

कार्यक्रम कृषि शाखा दंगीशरणकी प्रमुख शरु भुषालको सभापतीत्व, गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता, उपाध्यक्ष पिमा खड्काको विशिष्ट आथित्यता र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईको विशिष्ट आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण कृषि सहायक मान बहादुर डाँगीले गर्नुभएको थियो ।