स्थानीयले पिपल फाल्न नदिएपछि….

दीपक बोहरा,
तुलसीपुर,९ चैत ।
वरिपरि कालोपत्रे गरिएको छ, बीचमा पिपलको रुख छ । यही दृष्य हो–तुलसीपुर उपमहानगरपालिका वडा नं.११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडक । त्यहाँका चौधरी समुदायले पिपलको बोट फाल्न नमानेपछि त्यो रुखको वरिपरि कालोपत्रे गरिएको हो ।“त्यो रुख चौधरी समुदायका पुर्खाले रोपेका रहेछन्”,वडाध्यक्ष मानबहादुर रावतले भन्नुभयो“त्यहाँका स्थनीयले त्यो कुनै पनि हालतमा फाल्न मान्नुभएन ।”

स्थानीय ज्ञानबहादुर चौधरीका हजुरबुवाले धेरै बर्ष पहिले त्यो पिपल रोपेका स्थानीयले कालोपत्रे गर्दा त्यो पिपल फाल्न नदिएपछि त्यसैलाई बीचमा राखेर कालोपत्रे गरिएको छ । पिपल फाल्न नदिएपनि त्यहाँका स्थानीयले थप ३ मिटर जग्गा दिएको वडाध्यक्ष रावतले बताउनुभयो । उपमहानगरपालिकाको बजेटमा त्यहाँ कालोपत्रे हुन लागेको हो ।

यस अघि ५ मिटर रहेको त्यो बाटोलाई १० मिटर बनाउँदा नजिकै विद्युतको पोल पनि सडककै बीचमा छ ।“विगतमा साँघुरो सडक थियो, त्यसलाई चौडा बनाएर काम अघि बढायौं”,उहाँले भन्नुभयो“बर्षौ अघि सडक छेउमै विद्युतको पोल थियो, अहिले सडक चौडा गर्दा पोल बीचमा पर्न गयो ।”

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को कृष्णमन्दिरदेखि पश्चिम टिकरी तर्फ जाने सडकमा पनि सडक बीचमै पोल राखेर कालोपत्रे गरिएको छ । यस्ता थुप्रै ठाउँमा पोल बीचमा राखेर कालोपत्रे गरिएको छ । तर, त्यस्ता पोलहरु हटाउनकालागि पटक–पटक ध्यानाकर्षण गराउदा पनि त्यस्ता पोलहरु हटाउन आफूहरुसंग बजेट नहुँने विद्युत कार्यालय तुलसीपुरको भनाई छ । “हामीसंगै सडकबीचमा रहेका पोलहरु हटाउनकालागि बजेट हुँदैन, तर, उहाँहरुले विद्युतले नै सार्दिन्छ, भन्ने ठान्नु हुन्छ”, विद्यूत कार्यालय तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले भन्नुभयो“सम्बन्धित कार्यालयले नै पोल हटाउन बजेट छुट्याएर काम गर्ने हो, त्यसमा हामीले सर्वेक्षणको काम गर्ने हो ।” त्यसकालागि केन्द्रबाट अनुमति लिनुपर्ने समेत प्रमुख फर्सालले बताउनुभयो ।


सडक निर्माण भइसकेपछि मात्रै जानकारी दिने प्रचलनले गर्दा पनि यस्तो समस्या निम्तिने गरेको प्रमुख फर्सालले बताउनुभयो ।“सडक कालोपत्रे भएपछि मात्रै हामीलाई जानकारी आउछ”,उहाँले भन्नुभयो“त्यो भन्दा पहिल्यै जानकारी दिएपछि हामीलाई पनि सजिलो हुन्थ्यो ।”

यसरी सडक बीचमा रुख, पोलहरु पर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै परेको छ । तुलसीपुर ८ निवासी मोटरसाईकल चालक कृष्ण केसीले सडक बीचमा पोल नदेख्नेहरु झुक्किने गरेको बताउनुभयो ।“हामी बानी परेकाहरुलाई त केही हुँदैन”,उहाँले भन्नुभयो“कोही नयाँ मान्छे आएपछि झण्डै पोलमा ठोक्किन खोजेको हुन्छ ।” सडकका बीचमा हुने यस्ता रुख तथा पोलहरु तत्काल नहटाए दुर्घटनाको जोखिम बढ्ने उहाँले बताउनुभयो ।

विकास खोज्ने, जग्गा नदिने
हरेक ठाउँमा विकास चाहिन्छ । तर, त्यसकालागि जग्गा दिन कसैले पनि नमान्दा पनि यस्तो समस्या आउने गरेको तुलसीपुर ११ का वडाध्यक्ष रावतले बताउनुभयो ।“विकास सबैलाई चाहिएको हुन्छ, तर, सडक बनाउँदा एक आफ्नो अलिकति पनि जग्गा नकाटियोस्, भन्ने मनोबृति छ”,उहाँले भन्नुभयो“सडक बीचमा पोल पारेर कालोपत्रे गर्नुपर्ने पनि यसको बाध्यता हो ।”त्यस्तो मनोबृतिलाई त्याग नगर्दासम्म विकास नहुँने समेत उहाँले बताउनुभयो ।