मेट्रो कलेजमा वन सचेतना अभियान: स्वस्थ जीवनकालागि वन

तुलसीपुर, ७ चैत ।
स्वस्थ जीवनका लागि वन जङ्गलको आवश्यकता हुने कुरामा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । वन मानव स्वास्थ्यका लागि अपरिहार्य हुने भन्दै त्यसको संरक्षण र संवद्र्धनमा सबैले चासो दिनुपर्ने उनीहरुको भनाई थियो ।

तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत एग्रो फरेष्ट्री समुहको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलेज प्रमुख वसन्त आचार्यले वातावरण संरक्षण विना मानव जीवनको अस्तित्व समाप्त हुने कुरामा जोड दिए । ‘हामीले रुख रोपेर मात्रै हुँदैन त्यसलाई जोगाएर पनि लैजानुपर्दछ’ प्रमुख अतिथि आचार्यले भने ।


अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा आयोजना गरिएको वन र स्वास्थ्य विषयक वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुले वन विनाशसँगै मानव स्वास्थ्यमा गम्भिर असर पर्दै गएको बताएका थिए । वातावरणलाई स्वच्छ वनाउनका लागि वनले मृगौलाको काम गर्ने पनि विद्यार्थीहरुले जोड दिएका थिए ।

सो प्रतियोगितामा पारस वली प्रथम, सुमिक्षा आचार्य द्धितिय, प्रकाश वली तृतिय र राजेन्द्र खरेल सान्त्वना भएका थिए । विद्यार्थी सुस्मिता डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा वन विज्ञान प्रशिक्षक सचिन सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन विद्यार्थी भुवन वस्नेतले गरेका थिए । सन् २०१२ मा संयुक्त राष्ट्र संघको महासभाले मार्च २१ मा विश्वभरी नै वन दिवस मनाउने निर्णय गरेको हो ।