कोठाभित्र निसास्सिएर दंगीशरणमा एक महिलाको मृत्यु

तुलसीपुर, चैत ३ ।

दाङमा एक महिलाको निसासिएर मृत्यु भएको छ । दंगीशरण गाउँपालिका वडा नं. ५ देविस्थान निवासी ४० बर्षीया पार्वती घर्तीको निसासिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार घर्तीको शरिर नजलेको तर, निसासिएर मृत्यु भएको अबस्थामा फेला परेको थियो । घर्ती विहीबार राति साईला काकाको घरबाट निस्केर आफ्नो घरमा गएकी थिइन् ।

उनको एक कोठाको टिनले छाएको कच्ची घर थियो । त्यो घरमा उनी एक्लै बस्दै आएकी थिइन । उनका तीन छोराहरु क्रमसः २०,१९ र १६ बर्षीय छन् । तीनै जना काठमाडौंमा रोजगार गर्दै आएका छन् । घरमा एक्लै रहेकी उनी प्रायः बाहिरै खान खाएर घरमा जान्थिन् । उनले दैनिक मादक पदार्थ सेवन गर्ने गरेको भन्दै विहीबार पनि मादक पदार्थ सेवनकै कारण यस्तो घटना भएको हुन सक्ने प्रहरीको प्रारभीक अनुसन्धान छ ।

प्रहरीका अनुसार उनले चुरोट सल्काएर फालेको र त्यही कारणले घर भित्र आगो लागेको हुन सक्छ । ‘उहाँ प्रायः मादक पदार्थ सेवन गर्नु हुन्थ्यो भने नजिकका आफन्तीले भन्नु भएको छ’,उनले भने‘हिजो पनि मादकपदार्थ खाएर अचेत अबस्थामा रहेको र चुरोट खाएर फाल्दा ओछ्यानमा सल्किएर आगलागी भएको हुन सक्ने हाम्रो अनुमान छ ।’


आगलागी पछि उनले ढोका खोल्न प्रयास गरेको पनि देखिने प्रहरीले बताएको छ । प्रहरीका अनुसार ढोका नजिकै उनी मृत भेटिएकी हुन् । ढोकामा चुकुलसंगै रड पनि राखिएको छ । त्यही रड खोल्न नसकेपछि निसासिएर भित्रै मृत्यु भएको हुन सक्ने प्रहरीको भनाई छ ।

विहान ६ बजेतिर स्थानीय आफन्तीले घरमा गएर हेर्दा मृत्यु भएको अबस्थामा भेटिएकी थिइन् ।‘घर नजिकै उहाँको काका बस्नु हुनेरहेछ’प्रहरी निरीक्षक केसीले भने‘विहान किन नउठेको भनि जाँदा चुकुल नखोलेपछि भित्र हेर्दा ढोकामा मृत्यु भएको अबस्थामा देखेपछि हामी गएर ढोका खोल्दा मृत्यु भएको अबस्थामा फेला पारेका हौं ।’ उनका श्रीमान प्रहरी थिए । तर, एक बर्ष अघि सम्बन्ध विच्छेद भएको स्थानीयले बताएका छन् ।

उनको घरमा विद्युत पनि छैन । टुक्की पनि बाल्दैनथिइन् । प्रायः मोवाईलको बक्तिले काम गर्थिन । तर, उनी नियमित चुरोट खाने भएकाले त्यही चुरोटको ठुटोले आगलागी भएको हुन सक्ने प्रहरीको भनाई छ । आगलागीबाट विस्तारा,खाटलगायत अन्य लत्ताकपडा जलेको अबस्थामा थिए ।

उनको कोठामा वोत्तलमा मादक पदार्थ भेटिएको समेत प्रहरीको भनाई छ । घर्तीको शवलाई परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ । काठमाडौंका छोराहरु आएपछि शव परीक्षण हुने प्रहरीले बताएको छ ।