सल्यानमा एक युवाको हत्या आरोपमा चार जना पक्राउ

सल्यान, २४ फागुन ।
सल्यानमा २४ वर्षीय एक युवाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका ६ लुहाम निवासी ४० वर्षीय अमरबहादुर घर्ती, ३० वर्षीय टीकाराम केसी, ३४ वर्षीय बुद्धिराम श्रीस र कालिकोट जिल्ला तिलागुफा नगरपालिका ७ घर भई हाल त्रिवेणी गाउँपालिका ६ लुहाम बजार बस्दै आएका ३० वर्षीय सुरेश जैसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभएको छ ।

मृतकका बाबु मेरमान कामीले दिएको किटानी जाहेरीका आधारमा आउनीहरु चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु माथी जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भई त्रिवेणी गाउँपालिका ६ लुहाममा ग्रिल उद्योग सञ्चालन गर्दै आइरहेका २४ वर्षीय दिनेश विकलाई हत्या गरेको आरोप लागेको छ ।


प्रहरीका अनुसार पक्राउ परेका चार जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सल्यानबाट म्याद थप गराइ अनुसन्धान भइरहेको छ ।

लुहाम बजारमा जय विश्वकर्मा ग्रिल उद्योग सञ्चालन गरेर बस्दै आएका विक दुई दिनअघि त्रिवेणी गाउँपालिका ६ लुहाम बजार नजिकै खोलाको किनारमा बेहोस अवस्थामा फेला परेका थिए । उपचारका लागि जिल्ला अस्पताल सल्यान लगीएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।