घोराही–तुलसीपुर चारलेन ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढ्यो

दीपक बोहरा
दाङ,२३ फागुन ।
दाङको घोराही–तुलसीपुर चारलेन ठेक्का रद्द प्रक्रिया अघि बढेको छ । चारलेन परियोजना कार्यालय लमहीले सोमबार( ६ मार्च ,२०२३ ) मा सूचना प्रकाशित गरि ठेक्का रद्द गर्नकालागि १४ दिने सूचना जारी गरेको हो । ठेक्का रद्द गर्नु नपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरेको हो । परियोजना प्रमुख अनिश थापा मगरका अनुसार यदि त्यो अबधीमा सम्पर्कमा नआए त्यही दिनदेखि नै ठेक्का रद्द हुने सूचनामा उल्लेख छ ।

चारलेन ठेक्काको पटक–पटक गरि चौथो पटक म्याद थप गरिएको थियो । त्यो अबधी २०८० असारसम्म थियो । तर, त्यो अबधीमा ठेक्का लिएको कम्पनीले काम गर्न सक्ने सम्भावना कम रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो । चारलेनको ठेक्का भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राले लिएको छ । उक्त कम्पनीले पेटी ठेकेदार मार्फत काम गर्दै आएको थियो । यो बीचमा ८ जना पेटी ठेकेदारलाई काम दिएको भएपनि निर्माण सुरु भएको ५ बर्षसम्म पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेको छैन । जसले गर्दा यस क्षेत्रका जनप्रतिनिधि, बिभिन्न संघसंस्था तथा राजनीतिक दलले समयमा काम गर्न दवाव दिएका थिए । यदि काम गर्न नसके ठेक्का तोड्नु पर्ने माग राख्दै आएका थिए । पटक–पटक जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला समन्वय समितिको पहलमा छलफल भइरहेका थिए । तर, पनि सन्तोषजनक काम नगरेपछि ठेक्का तोडिएको परियोजना प्रमुख अनिश थापाले बताए ।

पटक–पटक ठेकेदार कम्पनीलाई तोकिएको अबधीमा काम सक्ने गरि लिखित कार्यतालिका र प्रतिबद्धता पेश गर्न परियोजना कार्यलयले सूचना जारी गरेको थियो । त्यसबीचमा ठेकेदार कम्पनीले लिखित र मौखिक प्रतिबद्धता जनाएपनि काम हुन नसकेको उनको भनाई छ ।

चारलेन सडक अलपत्र हुँदा अहिले नागरिकले सास्ती खेप्नु परेको छ । सडकमा आवतजावत गर्दा यात्रुहरु, सडक वरपरका बासिन्दालगायतले निकै सास्ती खेप्नु परेको छ ।

लामो समयदेखि अलपत्र चारलेन
घोराही–तुलसीपुर चारलेनको काम २०७५ माघदेखि सुरु भएको हो । ३० महिनामा काम सक्ने गरि सम्झौता भयो । उक्त सडकमा अहिलेसम्म ८ जना पेटी ठेकेदार फरिएका छन् । चौथो पटक म्याद थप भइरहसकेको छ ।


२०७८ जेठ ६ गते भित्र काम सक्नु पर्ने भएपनि त्यसो हुन सकेन् ।काम सक्ने त टाढाको कुरा ६ प्रतिशत भन्दा बढि प्रगति हुन सकेन । त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरि पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरि दोस्रो पटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ बैशाख २९ गते सक्ने गरि म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेन् । अहिल खरिद ऐनको १२ औं संशोधनले चौथो पटककालागि २०८० असारसम्म स्वतः म्याद थप गरेको छ ।

सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का,विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए । उनीहरुबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजंग रायमाझी आएका हुन् ।

पटक पटक म्याद थप हुने तर, काम नसिकदा नागरिक स्तरबाट पनि विरोध हुने गरेको छ । केही दिन अघि मात्रै सामाजिक अभियन्ताहरुको पहलमा चारलेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो ।
भारतीय एक्जिम बैंकको सहयोगमा चारलेन सडक भ्याट सहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैँया अमेरिकी डलर ( नेपालीमा १ अर्ब २३ करोड ) मा निर्माण हुन लागेको हो । भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रजेक्टले ठेक्का लिएको हो । तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अबस्था हुँदा नागरिकले निकै सास्ती खेप्नु परेको छ ।

पछिल्लो समय पुस १८ देखि बुटवलका सुनलिजंग राइमाझीले पेटी ठेक्का पाएका छन् । तर, उनले पनि काम अगाडी बढाउन सकेका छैनन् । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब ३ लाख २१ हजार ९ सय नेपाली रुपैया जरिवाना गर्ने गरेको छ । कुल रकमको १० प्रतिशतसम्म जरिवाना हुने ब्यबस्था अनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो ।