हाकिममाथि आक्रमणको प्रयास पछि पश्चिमका तीन वटै पालिकाको विरोध

बबई गाउँपालिकाका कर्मचारीहरु हातमा कालो पट्टी बाँधेरे विरोध गर्दै ।

तुलसीपुर,२१ फागुन । दाङ शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माथि हातपातको प्रयासको घटनालाई लिएर आईतबार पश्चिम दाङका तीन वटै पालिकाकाकर्मचारीले विरोध जनाएका छन् । शुक्रबार पालिकाका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्लीबहादुर खड्कालाई शान्तिनगरका २ नम्बर वडाध्यक्ष सुनिल वलीले हातपातको प्रयास गरेको भन्दै कर्मचारीले विरोध जनाएका छन् । शान्तिनगर गाउँपालिकामा आज अतिआबश्यक बाहेकका सेवा ठप्प पारिएको छ । त्यस्तै बबई गाउँपालिकाका कर्मचारीले कालो पट्टी बाँधेर विरोध जनाएका छन् । त्यस्तै दंगीशरण गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आइतबार विज्ञप्ति निकालेर दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

पालिकाका जनप्रतिनिधिले पटक–पटक पालिकाका प्रमुख प्रशासकीय अधिकृत माथि हातपात असभ्य,अभद्र तरिकाले गाली गलौज,सार्वजनिक सम्पतिको तोडफोड, हातपात र आक्रमणको प्रयास हुनु समग्र कर्मचारी माथि आक्रमण हुनु रहेको भन्दै कर्मचारीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।


दंगीशरण गाउँपालिकाले निकालेको विज्ञप्ति

शान्तिनगर गाउँपालिका वडा नं. २ र ५ को सिमानामा पर्ने बौलाह खोलाको विष्णपुर घाटमा भइरहेको उत्खख्का विषयमा विवाद सिर्जना भएपछि हातपातको अबस्था सिर्जना भएको हो । वडाध्यक्ष वली आएर पालिका अध्यक्षको कोठामा रहेको चिया टेबल उठाएर हिर्काउन खोजेको अधिकृत खड्काले बताए । कार्यपालिकाको गएको पुस २१ गतेको निर्णय अनुसार सोही क्षेत्रमा उत्खनन्को जिम्मा दंगीशरण ३ स्थित सनलाईट निर्माणलाई दिईएको थियो । वडाध्यक्ष वलीले भने तोकिएको क्षेत्र भन्दा बाहिर उत्खनन् भएकाले त्यसमा आफूले ध्यानाकर्षण गराएको वडाध्यक्ष सुनिल वलीले बताए ।

साथै ठेली नकाटेर ओसार पसार भइरहेको समेत वडाध्यक्ष वलीको भनाई छ ।