दाङका सडक आयोजनाको काम छिटो सकौंः सांसद शर्मा

काठमाडौँ, १२ फागुन ।
नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले दाङ जिल्लामा निर्माणको क्रममा रहेको विभिन्न सडक आयोजनाको काम छिटो सक्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले बाँके राष्ट्रिय निकुञ्जबाट महेन्द्र राजमार्गमा ओहोर दोहोर गर्दा बाघ लगायत जंगली जनावरहरुबाट धेरै जनाको ज्यान गएको बताउँदै वैकल्पिक राजमार्गको रूपमा रहेको हुलाकी राजमार्गको काम छिटो सम्पन्न आग्रह गरिन् ।

उनले हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भएपछि दाङ् देउखुरी राप्तिपारीका जनताहरू समस्यामा परेको उल्लेख गरिन् । काम ढिलासुस्ती हुँदा राप्तिपारीको मानिसहरूलाई हुलाकी राजमार्ग मृगतृष्णाजस्तै भएको उल्लेख गरिन् ।


दाङको कालाकाटेदेखि गम्दीसम्मको सडक सामान्य रूपमा अघि बढिरहेको बताउँदै सो सडक खण्डमा स्थानीयको विवाद समाधान गरी सडकको काम अघि बढाउन आग्रह गरिन् । यस्तै गम्दीदेखि बनकट्टी हुँदै बाँकेको खुकुरीसम्म करिब ५० किलोमिटर सडकको वातावरणीय प्रभाव मुल्याङ्कन इआइए भएर स्वीकृति भएकोले सो कामलाई पनि तदारुकताका साथ अघि बढाउन आग्रह गरिन् ।

दाङ जिल्लामा भारतसँग ३४ वटा नाका जोडिएको उल्लेख गर्दै त्यहाँका जनतालाई शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारीमा समस्या रहेको बताउँदै त्यसको समाधान गर्न आग्रह गरिन ।