तुलसीपुर १२ का वडाध्यक्ष चौधरी : जो तरकारी खेतिमा पनि रमाएका छन्

अन्जना बिश्वकर्मा,
दाङ, ८ फागुन /
दिनभरि वडाको काममा ब्यस्त । जनतासंग भेटघाट र साक्षात्कार । दिनभरको खटाईले थकान महसुस हुँदा थकाई बिसाउने एउटा ठाउँ–तरकारी खेति । तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन् । पुर्खौदेखि तरकारी खेति गर्दै आएकाले पनि होला, कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतिलाई समय दिने गरेका छन् ।

“तरकारी खेति हाम्रो पुर्खौदेखिको पेशा हो”,उनले भने “म जनप्रतिनिधि हुँदा पनि यो पेशालाई निरन्तरता दिएको छु , यो पेशा दिनभरको थकान भुलाउने माध्यम पनि बनेको छ ।” वडाध्यक्ष चौधरी उत्पादन भएको तरकारी लिएर बजार पनि जाने गर्छन् । विहान ४ बजे उठेर बारीमा फलेका तरकारी लिएर बजारसम्म पनि पुग्ने गर्छन् ।

“जनप्रतिनिधि होस्,या अरू कुनै पेशा व्यवसायमा हात हालेको ब्यक्तीले प्रायः खेतबारीमा काम गरेको देखिदैन”,वडाध्यक्ष चौधरीले भने “तर, म भने उत्पादनमा जोडिनु पर्छ, ता की यो कुराले अरूलाई पनि शिक्षा होस् ।” करिब ३ कठ्ठामा उनले टमाटर खेति गरेका छन्, भने अन्यमा खुर्सानी, प्याज, लसुन खेति गरेका छन् । चौधरीको २२ कठ्ठा जग्गामा वर्षेनी तीन बाली खेति हुने गर्छ । तरकारी खेतिका हिसाबले उत्तम मानिएको कचिलामा बेमौसमी तरकारी बढि हुन्छ  ।

खुसीरामले मात्रै दैनिक ६० किलो टमाटर निकाल्छन् । मंसीरदेखि बैशाखसम्म नियमित दैनिक ६० किलो टमाटर निकालेर बजारमा बिक्री गर्ने गरिएको छ । हाल किलोको ३० रूपैँया मात्रै पर्न जान्छ । भारतीय तरकारी भित्रिदा नेपाली उत्पादनले बजार नपाउने गरेको उनको गुनासो छ ।“हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन्, भण्डारणका लागि कोल्स्टोर पनि छैन”,उनले भने “त्यसले गर्दा पनि हामीले सस्तो मूल्यमा कृषिजन्य सामग्री सस्तोमा बेच्नु पर्ने अबस्था छ ।” टमाटर, प्याज, लसुन, खुर्सानीलगायत गरि उनले वार्षिक ६/७ लाख आम्दानी गर्दै आएका छन् । त्यहाँ सिंचाईको पनि राम्रो प्रबन्ध छ । बबई नदीको पानी लिफ्टिबाट निकालिएको छ, भने ग्वारखोलाको पानी कुलो मार्फत लगिएको छ ।


कृषिमा आश्रित
धेरैले राजनीतिलाई खेतीपाती बनाएको अवस्थामा माओवादी केन्द्रका तुलसीपुर नगर अध्यक्ष समेत रहेका चौधरीले भने राजनीतिलाई उद्यमसिलतासंगै जोडेर अगाडी बढि रहेका छन् ।

मुलुकलाई सम्बृद्ध बनाउनु पर्ने धेरैले भाषण गर्ने गरेपनि भाषणले मात्रै मुलुक समृद्ध बन्छ भन्ने कुरामा आफुले विश्वास नगर्ने उनको बुझाई छ । जबसम्म आफु पनि उद्यमशील बन्न सकिदैन्, समृद्धिका भाषणले सार्थकता नपाउने उनको भनाई छ ।“हामी धेरै समृद्ध नेपाल बनाउने भनेर भाषण गर्छौ” उनले भने “तर भाषणले मात्रै समृद्ध बनाउन नसकिने भन्दै त्यसका लागि आफै पनि उद्यममा जोडिनुपर्छ ।”

उनले राजनीति गर्नेले खाली बस्नु पर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने भन्दै राजनीतिकर्मीले पनि आमनागरिक जसरी जीवनयापन गर्नुपर्ने बताए । परिवार चलाउन तरकारी खेती गरेका उनले मुलुकलाई समृद्ध बनाउन राजनितिलाई पनि संगसंगै अगाडि बढाएको बताए । “राजनिति गर्नेले खाली बस्नु पर्छ भन्ने छैन,” उनले भने “जिविकापोर्जनका लागि आफ्नो काम गरेर पनि देश विकासमा अगाडी बढ्न सकिन्छ ।” साभारः अग्रिम साप्ताहिक