दीपक बोहरा
दाङ,२८ माघ । लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । मुख्यमन्त्री लिला गिरीले शनिबार मन्त्रीपरिषद विस्तार गरेका हुन् । यस अघि मुख्यमन्त्री गिरीसहित एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्ण केसी(नमूना) मन्त्री थिए । तर, उनीहरुको पनि मन्त्रालय बाँडफाँड भएको थिएन । जिम्मेवारी नपाएको भन्दै मन्त्री केसीले शनिबार मुख्यमन्त्री कार्यालयमा राजीनामा समेत बुझाएकी थिइन् ।
राजीनामा बुझाएपनि उनको राजीनामा स्वीकृत भएको छैन । उनलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै आचार्यलाई खानेपानी,ग्रामिण तथा सहरी विकास मन्त्रालयको जिम्मा दिईएको छ । शनिबार ७ जना नयाँ मन्त्री नियुक्त गरिएको हो । माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई आर्थिक मामिला मन्त्रालय र इन्द्रजित चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय दिईएको छ ।
त्यस्तै एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालय, दुर्गा प्रसाद चौधरीलाई बन तथा वातावरण मन्त्रालय तथा तुलसीराम शर्मालाईको जिम्मा दिईएको छ । त्यस्तै राप्रपाका जानकी प्रसाद यादवलाई उद्योग,पर्यटन तथा यातायात मन्त्रालय, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । मुख्यमन्त्री गिरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले थप ७ मन्त्री थप गरेका हुन् । प्रदेशमा रहेका १० वटा मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित ५ जना मन्त्रालय एमालेले, ३ मन्त्रालय माओवादी केन्द्रले र १÷१ मन्त्रालय जनमत र राप्रपाले पाएका छन् ।
नबनियुक्त मन्त्रीहरुको आईतबार दिउसो १ बजे सपथ ग्रहण हुनेछ । गएको पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । गिरीले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए ।
प्रदेशमा एमाले सबै भन्दा ठूलो दल हो । जसका २९ सांसद छन्, त्यस्तै सत्तापक्ष माओवादीका १०,राप्रपा र नागरिक उन्मुक्ती पार्टीका ४÷४, जनमत पार्टीका ३ र जसपाका ३ रहेका छन् । त्यस्तै काँग्रेसका २७,लोकतान्त्रिक समाजवादी पार्टीका ३, जनमोर्चा र एकीकृत समाजवादीका १/१ सांसद रहनेछन् । लुम्बिनीमा ८७ सांसद छन् ।
लाइभदाङ । २८ माघ २०७९, शनिबार २२:३३ बजे