दिपक बोहरा,
तुलसीपुर,१७ माघ /
आफ्नो नाममा रहेको जग्गामा बनेका घर टहरा हटाउने तयारी गरेको तुलसीपुर उपमहानगरपालिकाले केही दिन अघि मात्रै ऐलानी जग्गामा बनेका घरबाट कर संकलन गर्ने निर्णय गरेको छ । घर र जग्गा प्रयोग गरे वापत नगरसेवा भू–उपभोग शूल्क लगाउने लागिएको हो । उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगरसेवा उपभोग शूल्क लगाउने सम्बन्धी मूल्यांकन दर स्वीकृत गरि आगामी नगरसभाबाट स्वीकृत गरेर शूल्क लैजाने तयारी गरिएको उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले बताए ।
नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ । सबै भूमिहिन सुकुम्वासीलाई छानविन गरेर ब्यबस्थापन गर्ने समेत तयारी रहेको उनले बताए ।‘तुसीपुरमा १५ हजार बढि भूमिहिन सुकुम्वासी हुनुहुन्छ’,उनले भने‘उहाँहरु सबैलाई जग्गाको मालिक बनाउने योजना अनुसार हामीले यस्तो गर्न लागेका हौं ।’
केही दिन अघि मात्रै भूमिहिन सुकुम्वासीलाई ब्यबस्थापन गर्ने सन्दर्भमा छलफल गरिएको समेत उनले बताए । भूमिहिनको लगत संकलन तथा अन्य कार्य गर्नकालागि उपमहानगरपालिकाले ४ जना अमिन थप गरेको छ । प्रत्येक वडामा पनि अमिनले काम गरिरहेको प्रमुख खड्काको भनाई छ ।‘हामीले भूमिहिनहरुको पहिचान गर्न लागिरहेका छौं’,उनले भने‘ २६ सालदेखि बसेकाहरु पनि हुनुहुन्छ, कतिपयको जग्गा नाप पनि भएको अबस्था छ,तर, पुर्जा पाएका छैनन् ।’
ऐलानी जग्गा नै किनबेज भएको तर, त्यो जग्गाको प्रमाणिकरण हुन सकेको अबस्थामा उपमहानगरपालिको कर लिएमा त्यो जग्गा प्रमाणिकरण हुने उहाँको भनाई छ । सुकुम्वासी समस्या समाधान गर्नकालागि यस्तो कार्य अगाडी बढाईएको भएपनि उपमहानगरपालिकाको जग्गामा बसेकाहरुलाई भने हटाउने नै तयारी रहेको बताउनुभयो ।‘हामीले सुकुम्वासीको ब्यबस्थापन गर्ने हो, तर हुकुम्वासीहरुलाई त फाल्ने नै हो’,उनले भने‘नगरपालिकाको जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई त हटाउछौं नै ।’ बैशाखसम्म यसरी जग्गा ब्यबस्थापनको काम सक्ने योजना रहेको उनले बताए ।
उपमहानगरपालिकाको जग्गामा बनेका घर हटाउँदै
तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको उत्तरपूर्व तर्फ रहेका तीन वटा पक्की घर सम्बन्धित घर धनी आफैले हटाउने भएका छन् । केही दिनमै ति घरहरु हटाउने गरि घर धनीले तयारी गरेको उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बताए ।
त्यहाँ तुलसीपुरका ब्यबसायी टेकराम खड्का, तुलसीपुर १८ मानपुर निवासी अमर नेपाली र उहाँका एक जना आफन्तीको गरि तीन वटा पक्की छन् । आफै भत्काउने गरि तयारी गरेको इन्जिनियर योगीले बताए ।‘टेकराम खड्काको घर आफै भत्काउने भनेर सामान नै खाली गरिसकेका छन्’,उनले भने‘अरु दुईवटा घरपनि आफै भत्काउने गरि अन्त घर हाल्न लागेको कुरा गर्नुभएको छ, छिटै उहाँहरुले आफै जग्गा खाली गर्ने भन्ने कुरा सहमति भएको छ ।’ उपमहानगरपालिका कार्यालयको कित्ता नं. ५(घ) ८१२ त्यसरी अतिक्रमणमा परेको हो ।
उपमहानगरपालिकाले आफ्नो जग्गामा बनेका संरचनाहरु हटाउने गरि प्रक्रिया अघि सारेको छ । उपमहानगरपालिकाका पाँच वटा कित्ता रहेका छन् । ति मध्ये तुलसीपुर बसपार्कको उत्तर तर्फ आलुमण्डी आसपासको कित्ता नं.५(ख) ५४४ मा १ विघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यस्तै कित्ता नं.५(ख) कै ५४५ मा ३४ कठ्ठा, ५(ख) ५४६ मा ११ कठ्ठा र ५(ख)४९९३ मा ५३ हजार ५ सय ६५ वर्ग मिटर जग्गा रहेको छ । ति मध्ये अधिकांस जग्गा अतिक्रमणमा परेको छ । त्यसको लगत निकाल्ने काम भइरहेको छ ।
तुलसीपुर बसपार्क : दोस्रो चरणको काम गर्न ऋण माग्ने
पहिलो चरणको काम पूरा भएको तीन बर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क आधुनिक बनाउने कार्यको दोस्रो चरण सुरु हुन सकेको छैन । ३४ करोड लागतमा आधुनिक बसपार्क निर्माण कार्य गर्ने भनि गुरुयोजना तयार भएको थियो । तर, उपमहानगरपालिकासंग प्रयाप्त बजेट भएन । त्यसैले बिभिन्न‘फेज’मा काम गर्ने गरि तयारी भयो । पहिलो चरणमा नगर बिकास समितिबाट ऋण लिएर साढे १० करोड लागतमा बसपार्क निर्माण गरियो । जतिबेला नगर बिकास कोषले ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा उक्त बजेट दिएपछि पहिलो चरणको काम भएको थियो । २०७४ सालमा तत्कालिन नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बसपार्कको सिलन्यास गरेपछि काम सुरु भएको थियो ।
पहिला चरणमा १ तलाको टर्मिनल भवन, ५२ वटा व्यापारिक सटर, सार्वजनिक शौचालय, सडक र सडक बत्ति निर्माण गरिएको थियो । त्यो कार्य २०७६ सालमै सकिएको हो । अब दोस्रो चरणको काम अघि बढाउनु पर्नेमा त्यसो हुन सकेको छैन । उपमहानगरपालिकाका ईञ्जिनियर पवन योगीका अनुसार सन २०१३ मा डीपीआर तयार भएकाले अब त्यही डीपीआर अनुसार काम गर्दा पनि बाँकी रहेको काम २४ करोडले नभ्याउने भ्याउँदैन ।‘समयमै काम भएन ,२०१३ मा डीपीआर बनेको हो’,उनले भने‘अब त्यही डीपीआरमा काम गर्दा पनि २४ करोडले भ्याउने अबस्था छैन, महंगी बढेको छ ।’
उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने सम्भावना नभएपछि उपमहानगरपालिकाको कार्यपालिकाले नगर विकास समितिसंग ऋण माग गर्ने निर्णय गरेको छ । छैठौ कार्यपालिका बैठकले दोस्रो चरणको काम गर्नकालागि ऋण माग गर्ने निर्णय गरेको हो ।
अझै पनि टर्मिनल भवनलाई ३ तला बनाउनु पर्ने, सडक बक्तिहरु जडान गर्नुपर्ने, क्लब टावर, गार्डेन, कम्पलेक्स निर्माण गर्नुपर्ने, ढल निकास, पम्प ब्यबस्थापन,पार्किङ स्थानको व्यबस्थापनलगायतको काम बाँकी रहेको छ । ५ विघा क्षेत्रफलमा उक्त बसपार्क निर्माण भएको हो ।
यातायात ब्यबसायीहरुले भने पूरा संरचना निर्माण नगरेपछि डीपीआर अनुसार जे–जे संरचना बन्ने गरेका थिए, त्यही अनुसार नै आफूहरुबाट कर उठाएको बताएका छन् ।
अहिले पार्किङ शूल्क पनि सुविधासम्पन्न बसपार्कले लिने बराबरको शूल्क लिने गरेको ब्यबसायीहरुको गुनासो छ । अझै पनि पेट्रोलपम्प, क्यान्टिन,टर्मिनल भवन, यात्रु प्रतिक्षालय, स्वास्थ्यको जाँच गर्ने अबस्था, सीसी क्यामेरा, ग्रिन पार्क, बच्चाहरु राख्ने कक्ष, शौचालयलगायतको उचित ब्यबस्थापन हुन सकेको छैन । तर, पनि शूल्क भने महंगो लिने गरेको गुनासो छ ।
०५३ पछि पातुखोलामा सरेको थियो‘बसपार्क’
२०५३ अघि हाल उपमहानगरपालिकाको कार्यालय भन्दा दक्षिणतिर रहेको पार्कमा तुलसीपुर बसपार्क थियो । त्यो बसपार्क २०५३ फागुनमा पातुखोलाको किनारामा स्थानान्तरण गरिएको थियो । त्यसको २१ बर्षपछि आधुनिक बसपार्क निर्माण सुरु भएको हो । निकै कुरुप तथा धुलाम्मे र हिलाम्मे हुँदा त्यहाँका स्थानीयलाई निकै आजित बनाउथ्यो । आधुनिक बसपार्क निर्माणको काम सुरु गर्न माग गर्दै स्थानीयहरु पटक–पटक सम्बन्धित निकायमा पुगेर धर्ना दिने तथा आन्दोलन गर्ने गर्थे ।
फलस्वरुप २०७४ जेठ २९ गते तत्कालिन कार्यकारी अधिकृत टोपेन्द्र केसीले सिलन्यास गरेका हुन् । सोही अनुसार काम धमाधम अघि बढिरहेको थियो । निर्माणको जिम्मा शिबशक्ति कन्ट्रक्सनले लिएको थियो । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १७ माघ २०७९, मंगलवार ११:०२ बजे