खाद्य सचेतना बाँड्दै तुलसीपुर मेट्रो कलेज

तुलसीपुर, १५ माघ ।
तुलसीपुर मेट्रो कलेजले विभिन्न सामुदायिक विद्यालयमा खाद्य सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कलेजको फुड एण्ड डेरी टेक्नोलोजी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई खाद्य सचेतताको आवश्यकता र महत्वका बारेमा जानकारी दिएका थिए । उनीहरुले मानव स्वास्थ्यमा खाने बानीले निकै प्रभाव पार्ने भन्दै सामान्य कमजोरीले पनि विभिन्न गम्भिर प्रकृतिका रोगहरु लाग्ने गरेको बताएका थिए ।
तुलसीपुरको महेन्द्र माविमा भएको कार्यक्रममा बोल्दै उपप्रमुख स्यानी चौधरीले विद्यार्थीहरुमा स्वास्थ्यलाई गम्भिर असर गर्ने खालका जंकफुड खाने नराम्रो बानी रहेको बताईन् । ‘हामीले हाम्रो खाने बानीलाई वदल्न नसक्दा विभिन्न खालका समस्याहरु भोगिरहेका छौ’ उपप्रमुख चौधरीले भनिन् । उनले विद्यालयहरुलाई जंकफुड निशेधित क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकता रहेको कुरामा पनि जोड दिइन् । ‘के खाने ? कति खाने ? कसरी खाने ? यस्ता कुरामा हामीले जान्नु आवश्यक छ ’ उपप्रमुख चौधरीको भनाई थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले बालअधिकार र साइबर अपराधका बारेमा जानकारी दिएका थिए । सो अवसरमा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख उज्ज्वल रायमाझी,उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष केशव कुमार शर्मा, महेन्द्र माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अरुण लहरे, प्रधानाध्यापक जितबहादुर थापा, विद्यार्थी आयुशा थापामगर लगायतले खाद्य स्वच्छताको बारेमा प्रस्तुती तथा विचार राखेका थिए ।


कलेज प्रमुख वसन्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रशिक्षक सुदर्शन गोसाईले गरेका थिए । कलेजले विभिन्न ६ वटा सामुदायिक विद्यालयमा यस्तो सचेतना कार्यक्रम सञ्चालन गर्नेछ । उपभोक्ता हित संरक्षण शाखा र खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।