तुलसीपुर बसपार्क : दोस्रो चरणको काम गर्न ऋण माग्ने

तुलसीपुर,११ माघ । पहिलो चरणको काम पूरा भएको तीन बर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क आधुनिक बनाउने कार्यको दोस्रो चरण सुरु हुन सकेको छैन । ३४ करोड लागतमा आधुनिक बसपार्क निर्माण कार्य गर्ने भनि गुरुयोजना तयार भएको थियो । तर, उपमहानगरपालिकासंग प्रयाप्त बजेट भएन ।

त्यसैले बिभिन्न‘फेज’मा काम गर्ने गरि तयारी भयो । पहिलो चरणमा नगर बिकास समितिबाट ऋण लिएर साढे १० करोड लागतमा बसपार्क निर्माण गरियो । जतिबेला नगर बिकास कोषले ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा उक्त बजेट दिएपछि पहिलो चरणको काम भएको थियो । २०७४ सालमा तत्कालिन नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बसपार्कको सिलन्यास गरेपछि काम सुरु भएको थियो ।

पहिला चरणमा १ तलाको टर्मिनल भवन, ५२ वटा व्यापारिक सटर, सार्वजनिक शौचालय, सडक र सडक बत्ति निर्माण गरिएको थियो । त्यो कार्य २०७६ सालमै सकिएको हो । अब दोस्रो चरणको काम अघि बढाउनु पर्नेमा त्यसो हुन सकेको छैन । उपमहानगरपालिकाका ईञ्जिनियर पवन योगीका अनुसार सन २०१३ मा डीपीआर तयार भएकाले अब त्यही डीपीआर अनुसार काम गर्दा पनि बाँकी रहेको काम २४ करोडले नभ्याउने बताउनुभयो ।“समयमै काम भएन , २०१३ मा डीपीआर बनेको हो”,उहाँले भन्नुभयो“अब त्यही डीपीआरमा काम गर्दा पनि २४ करोडले भ्याउने अबस्था छैन, महंगी बढेको छ ।”

उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने सम्भावना नभएपछि उपमहानगरपालिकाको कार्यपालिकाले नगर विकास समितिसंग ऋण माग गर्ने निर्णय गरेको छ । छैठौ कार्यपालिका बैठकले दोस्रो चरणको काम गर्नकालागि ऋण माग गर्ने निर्णय गरेको हो ।

अझै पनि टर्मिनल भवनलाई ३ तला बनाउनु पर्ने, सडक बक्तिहरु जडान गर्नुपर्ने, क्लब टावर, गार्डेन, कम्पलेक्स निर्माण गर्नुपर्ने, ढल निकास, पम्प ब्यबस्थापन,पार्किङ स्थानको व्यबस्थापनलगायतको काम बाँकी रहेको छ । ५ विघा क्षेत्रफलमा उक्त बसपार्क निर्माण भएको हो ।


यातायात ब्यबसायीहरुले भने पूरा संरचना निर्माण नगरेपछि डीपीआर अनुसार जे–जे संरचना बन्ने गरेका थिए, त्यही अनुसार नै आफूहरुबाट कर उठाएको बताएका छन् ।

अहिले पार्किङ शूल्क पनि सुविधासम्पन्न बसपार्कले लिने बराबरको शूल्क लिने गरेको ब्यबसायीहरुको गुनासो छ । अझै पनि पेट्रोलपम्प, क्यान्टिन,टर्मिनल भवन, यात्रु प्रतिक्षालय, स्वास्थ्यको जाँच गर्ने अबस्था, सीसी क्यामेरा, ग्रिन पार्क, बच्चाहरु राख्ने कक्ष, शौचालयलगायतको उचित ब्यबस्थापन हुन सकेको छैन । तर, पनि शूल्क भने महंगो लिने गरेको गुनासो छ ।

०५३ पछि पातुखोलामा सरेको थियो‘बसपार्क’
२०५३ अघि हाल उपमहानगरपालिकाको कार्यालय भन्दा दक्षिणतिर रहेको पार्कमा तुलसीपुर बसपार्क थियो । त्यो बसपार्क २०५३ फागुनमा पातुखोलाको किनारामा स्थानान्तरण गरिएको थियो । त्यसको २१ बर्षपछि आधुनिक बसपार्क निर्माण सुरु भएको हो । निकै कुरुप तथा धुलाम्मे र हिलाम्मे हुँदा त्यहाँका स्थानीयलाई निकै आजित बनाउथ्यो । आधुनिक बसपार्क निर्माणको काम सुरु गर्न माग गर्दै स्थानीयहरु पटक–पटक सम्बन्धित निकायमा पुगेर धर्ना दिने तथा आन्दोलन गर्ने गर्थे ।

फलस्वरुप २०७४ जेठ २९ गते तत्कालिन कार्यकारी अधिकृत टोपेन्द्र केसीले सिलन्यास गरेका हुन् । सोही अनुसार काम धमाधम अघि बढिरहेको थियो । निर्माणको जिम्मा शिबशक्ति कन्ट्रक्सनले लिएको थियो ।