सकुम्वासीका पीडाः पहिले बस भने, अहिले हट भन्छन्

तुलसीपुर,९ माघ ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं.३ भलानेटीका पूर्णबहादुर परियारलाई २०६० सालमा गाउँको भेलाबाट बनको जग्गामा बस्न दिने सहमति गरे । परियारको नाममा कुनै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सृजना सामुदायिक बनमा बस्न दिने सहमति पनि उहाँ त्यहाँ घर बनाएर बस्नु भयो । अहिलेसम्म पनि उहाँको नाममा जग्गा छैन । जग्गा भनेको त्यही गाउँको भेलाले दिएको बन समुदायको जग्गा हो । तर, अहिले त्यही जग्गालाई खाली गर्न भनि बन समूहले ताकेता गर्दै आएको छ ।

परियार सहित ७ जना सुकुम्वासीहरु सामुदायिक बनको जग्गामा बस्दै आएका छन्, भने केही गैर सुकुम्वासी पनि बस्दै आएका छन् । तर, उनीहरुलाई बन समिति तथा स्थानीयहरुले पटक–पटक घर टहरा हटाउनेसम्मको धम्की दिदै आएका छन् ।“पहिले हामीलाई बस्न भनेर अनुमति दिए, अहिलेसम्म पनि मेरो नाममा जग्गा छैन”,परियारले भन्नुभयो“तर, केही बर्षदेखि यहाँ घरबारी छोड्न भन्दै कहिल्यै बन समूह, कहिल्यै स्थानीय आएर धम्की दिन्छन् ।”

केही दिन अघि आफूले लगाएको तोरी समेत कुचिदिएको उहाँले गुनासो गर्नुभयो । परियारसहित त्यहाँ बस्ने जितबहादुर विक, मोती नेपाली, बसन्ती परियार, चन्द्रबहादुर सुनार, भीम बहादुर दमाइ, सुन्तली विक रातो फाराम भरेका सकुम्बासी रहेको शान्तिनगर गाउँपालिकाले बताएको छ । तर, डिभिजन बन कार्यालय श्रीगाउँले गएको भदौ २१ गते सूचना प्रकाशन गरि ७ दिन भित्र टहरा हटाउन भनेको थियो । यदि टहरा नहटाए बल प्रयोग गरेर पनि हटाईने र कार्वाही गरिने सूचनामा उल्लेख थियो । त्यो भन्दा अघि १० दिने सूचना पनि निकालिएको थियो ।


त्यसपछि पीडितले उच्च अदालत तुलसीपुरमा निवेदन दिएपछि भदौ २९ गते अल्पकालिन अन्तरिम आदेश गरि बन कार्यालयको सूचना कार्यान्वयन नगर्नू भनेको छ । राष्ट्रिय भूमि आयोगले पनि बैकल्पिक ब्यबस्था नहुँदासम्म कसैलाई पनि हटाउने काम नगर्नू भनेर बन कार्यालयलाई अनुरोध गरेको छ । तर, पनि अहिले बिभिन्न समयमा हटाउन भन्दै धम्की आउने गरेको परियारले गुनासो गर्नुभयो ।

त्यस्तै सोही ठाउँका सुकुम्वासी चन्द्रबहादुर सुनारले पनि अहिले मुद्दा अदालतमा रहेकाले जस्तो अबस्था आउछ, त्यसैलाई टार्ने बताउनुभयो ।“जग्गा छैन, उमेर पनि बुढो भइसक्यो”, उहाँले भन्नुभयो“कसैले हट्न भन्छन्, कसैले के भन्छन्, जस्तो परिस्थिति आउछ, त्यस्तै गर्ने हो ।”

बन समितिका अध्यक्ष प्रताप दाहालले भने आफूहरुले उठाउन नखोजेको बताउनुभयो ।“हामीले उठाउन खोजेको होइन्, उहाँलाई समाजले नै पहिले बस्न दिएको हो”,उहाँले भन्नुभयो“ उहाँहरुले रातो फाराम भर्नुभएको छ, ब्यबस्थापन सरकारले गर्ला ।” साभारः अग्रिम साप्ताहिक