उपमहानगरपालिकाको जग्गामा बनेका घर आफै हटाउने

तुलसीपुर, ६ माघ ।
तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको उत्तरपूर्व तर्फ रहेका तीन वटा पक्की घर सम्बन्धित घर धनी आफैले हटाउने भएका छन् । केही दिनमै ति घरहरु हटाउने गरि घर धनीले तयारी गरेको उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बताउनुभयो ।

त्यहाँ तुलसीपुरका ब्यबसायी टेकराम खड्का, तुलसीपुर १८ मानपुर निवासी अमर नेपाली र उहाँका एक जना आफन्तीको गरि तीन वटा पक्की छन् । उहाँहरुले नै घर आफै भत्काउने गरि तयारी गरेको इन्जिनियर योगीले बताउनुभयो ।“टेकराम खड्काको घर आफै भत्काउने भनेर सामान नै खाली गरिसकेका छन्”,उहाँले भन्नुभयो“अरु दुईवटा घरपनि आफै भत्काउने गरि अन्त घर हाल्न लागेको कुरा गर्नुभएको छ, छिटै उहाँहरुले आफै जग्गा खाली गर्ने भन्ने कुरा सहमति भएको छ ।” उपमहानगरपालिका कार्यालयको कित्ता नं. ५(घ) ८१२ त्यसरी अतिक्रमणमा परेको हो ।

उपमहानगरपालिकाले आफ्नो जग्गामा बनेका संरचनाहरु हटाउने गरि प्रक्रिया अघि सारेको छ । उपमहानगरपालिकाका पाँच वटा कित्ता रहेका छन् । ति मध्ये तुलसीपुर बसपार्कको उत्तर तर्फ आलुमण्डी आसपासको कित्ता नं.५(ख) ५४४ मा १ विघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यस्तै कित्ता नं.५(ख) कै ५४५ मा ३४ कठ्ठा, ५(ख) ५४६ मा ११ कठ्ठा र ५(ख)४९९३ मा ५३ हजार ५ सय ६५ वर्ग मिटर जग्गा रहेको छ । ति मध्ये अधिकांस जग्गा अतिक्रमणमा परेको छ । त्यसको लगत निकाल्ने काम भइरहेको छ ।


लगत संकलन पछि सर्वदलिय, सर्वपक्षिय बैठक बोलाउने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो । उपमहानगरपालिकाले कात्तिक ३ गते नै जग्गा खाली गरिदिन भन्दै ३५ दिने सूचना जारी गरेको थियो । तर, सूचना प्रकाशित भएको ३५ दिन कटि सक्दा पनि चासो नदिएको भन्दै नागरिकले ध्यानाकर्षण गराईरहेका छन् ।

तर, आफूहरु नियमित यही कार्यमा लागिरहेको नगरप्रमुख खड्काले बताउनुुभयो । आफ्नो सम्पति संरक्षण गर्नुपर्ने दायित्व भएकाले यो कदम अघि बढाएको उहाँको भनाई छ । ति मध्ये कोही सुकुम्वासी भएमा उनीहरुलाई निश्चित ठाउँमा ब्यबस्थापन गर्ने समेत उहाँले बताउनुभयो ।

केहीले २०५६ सम्म उपमहानगरपालिकालाई भाडा तिर्ने गरेको भएपनि पछिल्लो समय भाडा पनि नतिरेको पाईएको प्रमुख खड्काले बताउनुभयो । सूचना प्रकाशन पनि केही ब्यक्ती कार्यालयमा आएर छुट गरेर भाडा तिर्ने समेत प्रतिबद्धता जनाएको बताउनुभयो ।