
दीपक बोहरा
दाङ, २८ साउन ।
दाङमा लागु औषध खाने जोडी चोरीमा संलग्न भएको पाईएको छ । लागुऔषधको लत पूरा गर्न घोराहीका विभिन्न घरहरूमा श्रृंखलाबद्ध रूपमा सुन चोरी गर्ने एक दम्पती र चोरीको गहना खरिद गर्ने व्यवसायीलाई जिल्ला अदालत दाङले कैद फैसला सुनाएको छ । न्यायाधीश लालसिंह थापाको इजलासले सोमबार मुख्य अभियुक्त तुलसीपुर ४ लक्ष्मीपुर निवासी विशाल विक, उनकी श्रमति मिना नेपाली तथा सुन ब्यबसायी घोराही ४ सुनपुर निवासी कुमार विकलाई कैद फैसला सुनाएको हो ।
मुख्य अभियुक्त विशाल विकलाई ४ वर्ष कैद र ४० हजार रुपैँया जरिवाना सुनाएको छ । उनी पहिले पनि चोरी मुद्दामा सजाय पाइसकेका ‘पटके’ अभियुक्त भएकाले थप सजाय दिइएको हो । त्यस्तै, मीना नेपालीलाई ३ वर्ष कैद र तीसहजार रुपैयाँ जरिवाना तथा व्यवसायी कुमार विक लाई १ वर्ष कैद सजाय सुनाइएको छ । अदालतले पीडितहरूलाई प्रतिवादीहरूबाट बिगो भराइदिने र वारदातमा प्रयोग भएका पल्सर मोटरसाइकल तथा स्कुटर जफत गर्ने आदेश समेत दिएको छ ।
यो गिरोहले २०८२ माघ १९ मा दाङ घोराही १५ भरतपुर स्थित जयकुमारी रानाको घरबाट सुनका गहना र नगद, फागुन १० सोही ठाउँका कुमार बसन्त आचार्यको घरबाट १० लाख ३६ हजारभन्दा बढीको सम्पत्ति र चैत ८ मा घोराही १४ निवासी गौरी कार्कीको घरबाट ८४.१ लाल सुन चोरी गरेको खुलेको छ ।
अभियुक्तहरूलाई प्रहरीले सीसीटीभी फुटेजको आधारमा पहिचान गरी ब्राउन सुगर सेवन र कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । खानतलासीका क्रममा उनीहरूको साथ र डेराबाट गरी कुल १८.६६ ग्राम ब्राउन सुगर बरामद भएको थियो भने बयानका क्रममा उनीहरूले लागुऔषधको लत र डेरा खर्च जुटाउन चोरी गर्ने गरेको स्वीकार गरेका थिए ।
चोरी गरिएका गहनाहरू घोराही १५ स्थित ‘जय विश्वकर्मा सुनचाँदी गहना उद्योग’ का सञ्चालक कुमार विकले बिल–बिजक बिना सस्तो मूल्यमा खरिद गर्ने गरेको पुष्टि भएको छ । प्रहरीले उनको पसलबाट चोरीका गहना गलाएर स्वरूप परिवर्तन गरिएको ३ तोला ४१ लाल सुन र नगद ३ लाख १४ हजार बरामद गरेको थियो । व्यवसायी भएर पनि चोरीको सामान हो भन्ने जानीजानी आर्थिक लाभ लिन खोजेको अभियोगमा कुमारलाई पनि जेल सजाय सुनाइएको हो ।



लाइभदाङ । २८ श्रावण २०८३, बिहीबार २०:३६ बजे