मुलुकलाई सुशासन र समृद्धि दिनेगरी काम अघि बढ्यो : सांसद शर्मा

काठमाडौं, २९ पुस ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले मुलुकलाई सुशासन र समृद्धि दिनेगरी सरकार अघि बढिरहेको दाबी गर्नुभएको छ ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद शर्माले वर्तमान सरकार जनादेश अनुसार बनेको र त्यसले मुलुकको सुशासन र समृद्धिका लागि सुरुवाती दिनबाट सकारात्मक कदम अघि बढाएको बताउनुभएको हो ।

सांसद शर्माले वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउन ‘सम्भव छ र सम्भावना छ’भन्ने देखाउनुपर्ने भएकाले सोही अनुसार अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने भएकाले त्यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।


सांसद शर्माले भन्नुभयो, ‘‘जनादेश अनुसार सरकार बनेको छ । यो सरकारले सकारात्मक ढङ्गले कामहरु अघि बढाउन पनि सुरुवात गरेको छ । यो सरकारले पूर्णता पाउन अझै बाँकी छ । यो सरकारको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई म बधाइ दिन चाहन्छु र कार्यकाल सफलताको शुभकामना दिन्छु । निर्वाचनको बेला सबै राजनीतिक पार्टीले अघि सारेको साझा मुद्दा सुशासन कायम गर्छौं । समृद्धि कायम गर्छौं भन्ने मुद्दा र एजेण्डा सबै राजनीतिक दलले अघि सारेको साझा मुद्दा र एजेण्डा हो ।’’

उहाँले २०७२ सालमा संविधान जारी भइसकेपछि समृद्धि र सुशासनका मुद्दा मुख्य एजेण्डा बनेको बताउनुभयो । साथै सांसद शर्माले गएको पाँच वर्षमा जनताको अपेक्षा अनुसार काम हुन नसकेको पनि बताउनुभयो ।

‘‘संविधान बनाउँदा नेपालका राजनीतिक दलहरुबीच सहमतिको आधारमा संविधान बन्यो । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा त्यो संविधान आफैँमा नितान्त मौलिक र उत्कृष्ट खालको संविधान थियो । त्यसलाई नेपालको विशिष्टतामा लागू गर्ने, कार्यान्वयन गरेर जाने सन्दर्भमा थुप्रै संविधानले निर्देशिन गरे अनुरुप पनि कानुनहरु निर्माण गर्ने, विधेयकहरु निर्माण गर्नुपर्ने आवश्यकता थियो ।’’ उहाँले बैठकमा भन्नुभयो ।

सांसद शर्माले वर्तमान गठबन्धन सरकार समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर भइरहेको पनि बताउनुभयो । जनताको अपेक्षा पूरा गर्दै अघि बढेमा मात्रै सरकार र राजनीतिक दलहरुले आफ्नो सुशासन र समृद्धिको मिसन पूरा गर्न सक्ने पनि स्पष्ट पार्नुभयो ।