मुख्यमन्त्री गिरीसहित दुई मन्त्रीद्वारा शपथ ग्रहण

तुलसीपुर,२८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीसहित दुई मन्त्रीले पद तथा गोेपनियताको शपथ लिनुभएको छ । विहीबार प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा मुख्यमन्त्री गिरीसहित एमालेको तर्फबाट मन्त्री बनेका अर्घाखाँची २(१)बाट निर्वाचित चेतनारायण आचार्य र सत्ता साझेदार माओवादी केन्द्रबाट मन्त्री बनेकी बाँके १(१)बाट निर्वाचित कृष्णा केसीलाई शपथ ग्रहण गराईएको हो । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि दुबै जनालाई विनाविभागिय मन्त्री बनाईएको हो ।

माओवादीले अर्थ तथा शहकारी, भौतिक पूर्वाधार विकास मन्त्रालय एवं पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयको दावी गरेको छ । मुख्यमन्त्री एमालेको भएपछि महत्वपूर्ण मन्त्रालय पाउनु पर्ने माओवादीको दावी छ । तर, यसमा एमालेले सहमति जनाएको छैन ।

प्रदेशसभामा सत्ता गठबन्धनका ७ दलका ५६ जना र स्वतन्त्र २ गरि ५८ जनाको समर्थन रहेको छ ।


अहिले लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् । यसलाई घटाउने गरि छलफल भइरहेको छ । १० वटा मन्त्रालय मात्रै राख्ने गरि तयारी गरिएको मन्त्री कृष्णा केसीले बताउनुभयो ।“मन्त्रालय घटाउने गरि छलफल भइरहेको छ, सायद १० वटा मात्रै हुन्छ होला”,उहाँले भन्नुभयो“त्यसमै भागबन्डा मिल्ला ।”

१० वटा मध्ये एमालेले मुख्यमन्त्री बाहेक ४ वटा मन्त्रालय दावी गरेको छ । तर, यो कुरालाई अन्य गठबन्धनका दलले स्वीकार गरिरहेका छैनन् । त्यस्तै माओवादी केन्द्रले ३ वटा र अन्य साना दललाई ३ वटा मन्त्रालय दिने गरि छलफल अगाडी बढार्ईएको केसीले बताउनुभयो ।