सुत्केरीको मृत्यु प्रकरण : छानविन गर्न समिति गठन

दाङ,३१ वैशाख । दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएको विषयमा छानविन गर्न समिति गठन गरिएको छ । आईतबार दुवै पक्ष र सरोकारवालाबीचको छलफलले घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डीसीको नेतृत्वमा छानविन समिति गठन गरेको हो । छानविन समितिको प्रतिवेदन अनुसार आबश्यक कारवाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएको विहीबार दिउसो १ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ८ सौडीकी २८ बर्षीया मधु बुढाथोकी केसीको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थयो । त्यसपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा थिए ।

प्रतिष्ठानले बच्चा जन्मिएपछि स्वास्थ्यमा अनपेक्षित जटिलता आई निजको निधन भएको बताएको छ । सुत्केरी पश्चात पाठेघर खुम्चिई बन्द हुनुपर्नेमा रक्तश्राव बन्द नभएकाले औषधीको प्रयोग तथा अन्य विधि र प्रक्रियाद्वारा उपचार गरिएको भएपनि रक्तश्राव बन्द नभएपछि आफन्तको स्वीकृतमा शल्यक्रिया गरी पाठेघर निकालिएको प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ । तर, पनि रक्तश्राव नरोकिएकाले मृत्यु भएको प्रतिष्ठानको भनाई छ ।

तर, आफन्तले भने बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको मत्ृयु भएको बताएका छन् ।


उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएको समेत आरोप लगाएका छन् ।

सुत्केरी हुनुअघि सबै स्वास्थ्य परिक्षण गर्दा सामान्य रिपोर्ट आएको थियो । पछि प्रतिष्ठानको लापरवाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूणर्ा बुढाथोकीले बताउनुभयो ।