सातै प्रदेशका मुख्यमन्त्री देउखुरी आउँदै

दाङ,८ पुष ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका(भालुवाङ)मा सातवटै प्रदेशका मुख्यमन्त्रीहरु आउने भएका छन् । प्रदेश सरकारका कामको समीक्षा र अव बन्ने सरकारलाई सुझाव दिनका लागि सम्मेलन आयोजना गरिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताए । पाँच वर्षे कार्यकाल पूरा गरेका मुख्यमन्त्रीहरुलाई बोलाएर सम्मेलन आयोजना गरिएका र त्यसको तयारी अगाडी बढेको मुख्यमन्त्री केसीको भनाइ छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता तथा सचिव नरेन्द्रकुमार रानाका अनुसार यही पुस १५ गते मुख्यमन्त्री सम्मेलन गर्ने गरि तयारी गरिएको छ । लुम्बिनीमा आउने मुख्यमन्त्रीहरुलाई यहाँको स्थायी राजधानीको बारेमा समेत लुम्बिनी प्रदेश सरकारले ब्रिफिङ गर्ने छ ।

२०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसको झन्डै २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको हो । मुख्यमन्त्री कार्यालयले देउखुरीबाट यही मंसिर २८ गतेबाट काम गर्न सुरु गरिसकेको छ । अन्य मन्त्रालयहरु अव छिट्टै नै सार्ने तयारी थालिएको छ । यसका लागि देउखुरीमा मन्त्रालयका भवनहरुको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको छ ।


गत मंसिर ४ गते भएको संसदीय निर्वाचनबाट संघ र प्रदेशमा नयाँ जनप्रतिनिधि चुनिएर आइसकेका छन् । दुवै तहमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ । यो अवस्थामा गत ५ वर्षे कार्यकालमा प्रदेश सरकारहरूको समीक्षा र आगामी नयाँ सरकारलाई सुझाव दिन पनि सम्मेलन आयोजना गर्न खोजिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक ममिलामन्त्री तिलकराम शर्माले जानकारी दिए ।

मुख्यमन्त्री कुलप्रसाद केसीको निमन्त्रणामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइ, मधेश प्रदेशका लालबाबु राउत, बागमती प्रदेशका राजेन्द्रप्रसाद पाण्डे, गण्डकी प्रदेशका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका सरकार प्रमुख त्रिलोचन भट्ट सम्मेलनमा सहभागी हुन देउखुरी आउने कार्यक्रम तय गरिएको छ ।