नवनिर्वाचित सांसदहरूको शपथ आज

काठमाडौं, ७ पुष ।
संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज ( बिहिबार) शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ ।

नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज (बिहिबार) सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शपथ गराएकी थिइन् ।

शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो ।


बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा। भरतराज गौतम लगायत सहभागी हुनेछन् ।