उज्यालो राप्ती अभियान सुरू

भालुवाङ, ५ पुष ।
दाङको राप्ती गाउँपालिकालाई सडक बत्ती मार्फत उज्यालो बनाउने गरी ‘उज्यालो राप्ती’ अभियानको सुरुवात गरिएको छ । राप्ती गाउँपालिकाले लमही–भालुवाङ सडक खण्डको वडा नं. १ को भालुवाङदेखि वडा नं.५ को सिङ्गेखोलासम्मको करिब १५ किलोमिटर सडकको विभिन्न स्थानहरूमा १ सय ५० भन्दा बढीको संख्यामा ‘सेन्सर’ सहितका ‘स्मार्ट’ सडक बत्तीहरू जडान गर्ने गरी उज्यालो राप्ती अभियानको काम अघि बढाइएको हो ।

सडक बत्ती जडान गर्नका लागि आर्थिक वर्ष २०७९/८० मा राप्ती गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको पालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।


पालिकाको सहयोग तथा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यलय लमही सँगको सहकार्यमा यो कार्यको शुरुवात गरिएको छ । सोमबार वडा नं.५ को सिङ्गेखोलादेखि वडा नं.८ को बिजौरीसम्म सडक बत्ती जडान गर्ने कार्य सकिएको छ, भने केहि दिन भित्रै सम्पूर्ण काम सम्पन्न हुने प्राविधिकहरुले बताएका छन् ।

सडक बत्ती जडानले गाउँपालिकालाई थप सुरक्षित र सुन्दर बनाउनुका साथै रातीको समयमा हुन सक्ने दुर्घटना, चोरी, लुटपाट जस्ता घटनाबाट बच्न सकिने अध्यक्ष विष्टले विश्वास व्यक्त गरेका छन् ।